मन्थलीबाट रामेछाप जोड्ने सडक कालोपत्रे गरेको ५ महिनामै यसरी भासियो ( हेर्नुहोस् )

  • प्रकाशित मिति: आइतबार, साउन १३ २०७५
  • तामाकोसी खबर

रामेछाप । साउन १३ गते,
सदरमुकाम मन्थलीबाट पुरानो सदरमुकाम रामेछाप बजार जोड्ने १४ किलोमिटर सडकखण्ड कालोपत्रे भएको पाँच महिना नपुग्दै फुटेर काम नलाग्ने भएको छ । पाँच महिना अगाडि कालोपत्रे गरेको सडक अहिले ठाउँठाउँमा भासिएर ठूल्ठूला खाडल पर्नुको साथै कतिपय स्थानमा सडक चिराचिरा परेको छ । एशियाली विकास बैंकको १४ करोड ६५ लाख रुपैयाँ आर्थिक सहायतामा निमार्ण सम्पन्न भएको त्यो सडक २०१७ को फ्रेबअरी महिनासम्म पूरा गर्ने गरी बज्रगुरु कन्सट्रक्सन प्रालिले कालोपत्रेको जिम्मा लिएको थियो । सडक निमार्णको जिम्मेवारी पाएको निमार्ण व्यवसायीको चरम लापरबाहीको कारण काम सम्पन्न गर्नु पर्ने सम्झौता भएको समयभन्दा एक वर्ष ढिला गरेर उक्त सडकको काम सकेको भएता पनि कमसल सामाग्री प्रयोग गरेकाले सडक निर्माण सम्पन्न भएको पाँच महिना नबित्दै त्यो सडक फुटेर चिराचिरा भएपछि ठूला मालबाहक यातायात सञ्चालन गर्न समेत जोमिख भएको छ । अहिले त्यस सडकमा साना सवारीसाधन मात्र संचालन हुँदै आएका छन् ।
मन्थलीदेखि रामेछापसम्म १४ किलोमिटरको बीचमा डेढ दर्जनभन्दा बढी ठाउँमा सडक भासिएको र फुटेको छ । साथै अधिकांश ठाउँमा सडकमाथिबाट पहिरो खसेर सडक पुरिएको छ । सडक कालोपत्रे गर्ने क्रममा भित्ताको माटो काटेर थुपारेको माटो माथि नै कालोपत्र गरेको र कालोपत्रे राखेर आवश्यकता अनुसारको कम्प्रेसन नदिएको कारण सडक भासिएको सडक डिभिजन कार्यालय खुर्कोटका सुपरभाइजर धु्रव कार्कीले जानकारी दिए । सडकमा कालोपत्रे राखिसेकपछि भाइब्रेट मेसिनले पेल्नु पर्ने भए पनि आवश्यकता अनुसार नपेलेको आरोप स्थानीयबासिन्दाले लगाएका छन् । सडक निर्माण भइरहँदा ठेकेदारले लापरबाही गरेपछि सडक निर्माणमा निगरानी राख्नको लागि स्थानीयले नागरिक निगरानी समिति समेत बनाएका थिए । निगरानी समितिले कामको गुणस्तरताको बिषयमा पटक पटक आवाज उठाएको भएता पनि त्यसको वेवास्ता गर्दै निमार्ण व्यवसायीले मनलाग्दी तरीकाले सडक कालोपत्रे गरेको रामेछाप नगरपालिका वडा नम्बर ८ का हरिकमाुर बुढाथोकीले जानकारी दिए । सडक कालोपत्रे गर्ने जिम्मा लिएको निमार्ण व्यवसायीको चरम लापरबाहीका कारण ५ महिना पनि नबित्दै सडक भासिन पुगेको रामेछाप नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष केदार कार्कीले जानकारी दिए ।