काठमाडौं । साउन ९ गते,
सरकारी वार्ता टोली र अनशनरत डा. गोविन्द केसीको वार्ता टोलीबीचको वार्ता सकरात्मक भएको छ ।शिक्षा मन्त्रालयमा मंगलबार भएको वार्तामा सहमतिका लागि ७ बुँदे मस्यौदा तयार भएको छ । केही विषयमा अझै सहमति हुन बाँकी रहेकाले बुधबार अन्तिम निष्कर्षमा पुगिने वार्ता टोलीका सदस्यहरुले बताएका छन् । डा. केसीको वार्ता टोलीका सदस्य अभिषेकराज सिंहले भने – ‘केही विषयमा हामी सहमति नजिक छौं, केही विषयमा छलफल भइरहेको छ ।
बुधबार दिउँसोसम्म टुंगो लाग्छ ।’ सरकारी पक्ष लचक बनेपछि डा केसीको अनसन पनि बुधबार नै तोडिनसक्ने सम्भावना रहेको वार्ता टोलीका एक सदस्यले बताए । वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव खगराज बराल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी र गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने थिए। यसैगरी, डा केसीका तर्फबाट डा जीवन क्षेत्री, डा अभिषेक सिंह, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र सुमित पाण्डे सहभागी थिए।
सरकारी वार्ता टोली र डा. केसीको टोलीबीच काठमाडौं उपत्यकामा १० वर्ष नयाँ मेडिकल नखोल्ने, एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने, सम्बन्धनका लागि ३ सय शय्याको अस्पताल कम्तीमा ३ वर्षसम्म सञ्चालन भएको हुनुपर्ने, सरकारी मेडिकल कलेजमा ७५ प्रतिशत सिट निःशुल्क हुनुपर्ने लगायतका विषयमा छलफल भएको थियो । डा केसीले उठाएका मागमध्ये अधिकांश बुँदामा सहमति भएको बताइएको छ । बाँकी विषयमा बुधबार पुनः छलफल गरेर सहमति जुटाउने गरी मंगलबारको वार्ता सकिएको छ।
