रामेछाप, असार २० । रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका ५ नागदहमा रहेको वुद्ध जनप्रिय माविलाई स्थानीयले २५ लाख मुल्य बराबरको निशुल्क जग्गादान गरेका छन् । सो विद्यालयलाई स्थानीय होम बहादुर मगरकी पत्नी धनमायाँ मगर र फत्त बहादुरकी पत्नी मनमायाँ आले मगरले सो विद्यालयलाई जग्गा दान गरेका हुन् ।
साविकको नागदह गाविसका गाविस अध्यक्ष आशबहादुर तामाङका अनुसार उनीहरुले ५ रोपनी क्षेत्रफल भएको जग्गा विद्यालयलाई निशुल्क प्रदान गरेका हुन् । उनीहरुले विद्यालयको नाममा जग्गा पास गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिब बहादुर मगरलाई विद्यालयको नामको जग्गाधनी पूर्जा हस्तान्तण गरेका छन् ।
विद्यालयको आफनै जग्गा नहुँदा भूकम्प पछि विद्यालय भवनको पूननिर्माणको काम अघि बढ्न सकेको थिएन । सो विद्यालयमा एशियाली विकास बैकले करिव ८ करोडको लागतमा विद्यालय भवन निर्माणको काम अघि बढाएको छ । तर विद्यालयको आफनै जग्गा नहुँदा सो कार्य रोकिदै आएको थियो ।
विद्यालयको आफनै जग्गा भए पछि अब नयाँ भवनको काम सुरु गर्ने बाटो खुलेको विद्यालयका प्रधानाध्यापक राजुकुमार काफलेले बताए । गाउँमा शैक्षिक क्षेत्रको विकासको लागि जग्गा दान गर्न पाउँदा आफुहरुलाई गर्वानुभुति भएको जग्गादाता मनमायाँ र धनमायाँ मगरले बताए । आदीवासी जनजाति समुदायको बाहुल्यता रहेको लिखु तामाकोसी गाउँपालिकाको सो वडा शैक्षिक क्षेत्रमा निक्कै पछि परेको छ । नयाँ भवन निर्माण भएपछि विद्यालयको भौतिक अवस्थामा सुधार भई पठनपाठनमा समेत सुधार हुने अपेक्षा गरिएको छ ।
