पत्रकारलाई लाठि चार्ज गरेको भन्दै सर्बत्र विरोधः दोषीलाई कारबाहिको माग

  • प्रकाशित मिति: शुक्रबार, असार १ २०७५
  • तामाकोसी खबर

रामेछाप ,असार १ गते ।
समाचार संकलनको क्रममा घटनास्थलमा पुगेका पत्रकारहरुमाथि प्रहरीले लाठीचार्ज गरेको प्रति विभिन्न प्रेस संगसम्बन्धित संघसंस्थाहरुले सर्वत्र विरोध गरेका छन् ।
नेपाल पत्रकार महासघ जिल्ला शाखा रामेछापले अन्नपुर्ण मिडिया नेटवर्कका जिल्ला सम्बाददाता एवं महासघंका केन्द्रिय पार्षद युनिक विफा घिसिङलाई प्रहरीले निर्मम कुटपिट गरेको प्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रेस विज्ञप्ती जारी गरेको छ ।
घटनाले सञ्चार माध्यम माथिको स्वतन्त्रतालाई प्रहरी प्रशासनले हस्तक्षेप गरी उल्लंघन गरेको जारी विज्ञप्तीमा उल्लेख छ ।

जिल्ला अध्यक्ष रमेश ढुङ्गेलद्धारा हस्ताक्षरित विज्ञप्तीमा घटनाको घोर भत्सना गर्दै संलग्न प्रहरीलाई हदैसम्मको कारबाहिको माग समेत गरको छ ।
यता आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) केन्द्रले पनि पत्रकार माथि गरेको दुव्र्यवहारको निन्दा गरेको छ ।



निर्वाध रुपमा समाचार संकलन, छायाङकन तथा प्रकाशन प्रशारण गर्न पाउनुपर्ने पत्रकारलाई स्वतन्त्रता हुदाहुदै प्रहरीले पत्रकारमाथि गरेको आक्रमण तथा दुव्र्यवहारले अत्यन्त गम्भिर चिन्तित बनाएको विज्ञप्तीमा उल्लेख छ ।

केन्द्रिय महासचिव मनोज घर्तिमगरले हस्ताक्षर गरेको उक्त विज्ञप्तीमा सत्यतथ्य छानविन गरी दोषीमाथि कारबाहि गर्न र पत्रकारहरुको सुरक्षाको प्रत्याभुति दिलाउन सरकारसंग जोडदार माग समेत गरेको छ ।

यस्तै रामेछाप जिल्ला स्थीत प्रेस चौतारी नेपाल, प्रेस युनियन, प्रेस सेन्टर, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) र सञ्चारिका समुहका अध्यक्ष एवं पदाधिकारीहरुको हस्ताक्षरमा निष्पक्ष छानविन गरी दोषीलाई हदैसम्मको कारबाहिको माग गर्दै संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरेका छन् ।