रामेछाप । जेठ २९ गते,
रामेछापको सदरमुकाम मन्थलीमा ५ दिने आधारभूत पत्रकारिता तालिम मंगलबाट सुरु भएको छ । असार २ गते सम्म संचालन हुने तालिमको जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले उद्घाटन गरेका हुन् । नेपाल सरकार सञ्चार तथा युवा प्रविधि मन्त्रालय सूचना विभागको आयोजना, एकीकृत समाज विकास नेपालको सहआयोजना र नेपाल पत्रकार महासंघ रामेछापको संयोजनमा तालिम सुरु भएको हो । 
पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले यो तालिममाले पत्रकारहरुको क्षमता विकासमा सहयोग गर्ने बताए । उनले तालिममा सिकेका कुराहरुलाई विकास र खोज पत्रकारिता तर्फ उन्मुख गराउन सहभागिहरुलाई आग्रह गरे । मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतलले पत्रकारिता पेशा ठुलो चुनौती र सम्भावना बोकेको पेशा भएको बताए ।
उनले पत्रकारहरुले मुलुकको ठुला परिवर्तनहरुमो प्रभावकारी भूमिका निर्वाहा गरेको उनको भनाई छ । पत्रकारहरुले सकरात्मक सोचका साथ विकास र खोज पत्रकारितातिर लाग्न उनको सुझाव छ । रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञ प्रसाद शर्माले भर्खरै पत्रकारिता सुरु गरेकाहरुका लागि आधारभूत पत्रकारिता तालिम अति उपयोगी रहेको बताए । जिल्ला युवा समिति रामेछापका अध्यक्ष प्रकाश कुमार कार्कीले पत्रकारहरुको वृद्धि विकासका लागि स्थानीय सरकारले विभिन्न तालिमको आयोजना गर्नुपर्ने बताए । 
अहिलेको पत्रकारिता बिशेषत राजनीतिक पार्टीमा धेरै केन्द्रीत भएको भन्दै यसलाई परिवर्तन गरेर विकास तिर लानुपर्ने उनको भनाई छ । कार्यक्रममा घरेलु तथा साना उद्योेग विकास शाखा रामेछापका प्रमुख राजेन्द्र श्रेष्ठ , पत्रकार महासंघ प्रदेश नम्बर ३ का सदस्य बद्री नयाघरे, एकीकृत समाज विकास नेपालका कार्यकारी निर्देशक दिपक कार्की लगाएतले तालिमले रामेछापमा पत्रकारहरुको वृद्धि विकासमा सहयोग गर्ने बताएका थिए । तालिममा रामेछाप जिल्लाका विभिन्न संचार माध्ययममा आवद्ध र पत्रकारितामा रुचि राख्ने ३५ जना भन्दा बढिको सहभागिता रहेको छ ।
रामेछापको मन्थलीमा ५ दिने आधारभूत पत्रकारिता तालिम
- प्रकाशित मिति: मंगलबार, जेष्ठ २९ २०७५
- तामाकोसी खबर