रामेछाप । जेठ २७ गते,
रामेछाप जिल्ला खुल्ला दिशामुक्त जिल्ला घोषणा भएको छ । आईतबार सदरमुकाम मन्थलीमा भएको एक विशेष कार्यक्रममा पदेश नम्बर ३ का सांसद शान्ति प्रसाद पौडेलले रामेछापलाई नेपालका ५३ औ खुल्ला दिशामुक्त जिल्ला घोषणा गरेका हुन् ।
विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा जिल्ला स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति रामेछापको आयोजनामा जिल्लालाई खुल्लादिशामुक्त भएको घोषणा गरिएको हो । यो संगै रामेछाप जिल्ला प्रदेश नम्बर ३ को साँतौ खुल्ला दिशामुक्त जिल्ला घोषणा भएको हो ।
जिल्लाको सवै स्थानीय तहका ६४ वटै वडामा करिव ४८ हजार १ सय ९२ घरमा सौचलय बनेर प्रयोगमा आएको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रामेछापका प्रमुख लोक बहादुर चौलागाईले जानकारी दिए । कार्यक्रममा बोल्दै ३ नम्बर प्रदेशका सांसद शान्ति प्रसाद पौडेलले रामेछाप जिल्ला खुल्ला दिशामुक्त घोषणा हुन सरसफाई र सभ्यताको क्षेत्रमा ठुलो उपलब्धी भएको बताए । अब यो उपलब्धीलाई टेकेर जिल्लाले सरसफाईका सवालमा अझै धेरै काम गर्न आवश्यक रहेको उनको भनाई छ । एक अर्काे प्रसङगमा सांसद पौडेलले बाताबरण संरक्षण अहिलेको मुख्य कार्यभार रहेको बताए । 
सांसद पौडेलले प्रदेश सरकार सवै जनताको घरघरमा खानेपानी उपलब्ध गराउँन प्रतिवद्ध रहेको समेत बताए । जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले जिल्ला खुल्ला दिशामुक्त घोषणा भएकोमा खुशी ब्यक्त गरे । उनले खुल्ला दिशामुक्त जिल्ला बनाउनका लागि सहयोग गर्ने सम्पुर्ण सरकारी तथा गैर सरकारी संस्थाहरुलाई धन्यवाद ब्यक्त गरे । मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले जिल्ला खुल्ला दिशामुक्त घोषणा हुनु निकै खुशीको कुरा भएपनि जिल्ला सरसफाईको क्षेत्रमा अझै धेरै काम गर्न आवश्यक रहेको बताए । जिल्लाको अधिकांस ठाउँहरु सुख्खाग्रस्त रहेकाले त्यस्ता ठाउँमा पानीको व्यवस्थापन गरी बनेका सौचालयहरुको प्रयोगलाई सवैले ध्यान दिनुपर्ने उनको भनाई छ ।
जिल्ला स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति अधयक्ष एवं जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काको अध्यक्षता र सांसद शान्ति प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला स्थित विभिन्न गाउँपालिका प्रमुख ,उपप्रमुख , विभिन्न राजनैतीक दलका प्रमुख एवं प्रतिनिधिहरुले जिल्ला खुल्ला दिशामुक्त घोषणा भएकोमा खुशी ब्यक्त गरेका थिए । कार्यक्रममा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुले विभिन्न सांगितिक प्रस्तुती पनि दिएका थिए । कार्यक्रममा जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्नका लागि सहयोग गर्ने विभिन्न सरकरी तथा गैर सरकारी संस्था र विभिन्न ब्यक्तिहरुलाई प्रमाणपत्रले सम्मान पनि गरिएको छ ।
रामेछाप देशको ५३ औं र प्रदेशको साँतौ खुल्ला दिशामुक्त जिल्ला
- प्रकाशित मिति: आइतबार, जेष्ठ २७ २०७५
- तामाकोसी खबर