ओखलढुंगा । जेठ २३ गते, मनोज भट्राई,
ठेक्का लिएको पाँच बर्षमा १० प्रतिशतसमेत काम पुरा नगर्ने ठेकेदारलाई ओखलढुंगा प्रहरीले पक्राउ गरेको छ । मोलुङ गाउँपालिका १ र सुनकोशी गाउँपालिका १० जोड्ने मोलुङ खोलाको पक्की पुल निमार्णको ठेक्का पाएको राजेन्द्र लोकप्रिय जेभीका सब–कन्ट्रयाक्टर रविन्द्र लामालाई प्रहरीले सोमबार पक्राउ गरेको हो । उनलाई प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको निर्देशनमा पक्राउ गरिएको हो । उक्त पुल दुई वर्ष्भित्र निर्माण सम्पन्न गर्ने गरि २०७० साल असार ३० गते सम्झौता गरिएको भएपनि हालसम्म चार प्रतिशत पनि काम हुन सकेको छैन ।
८० मिटर लम्बाई र ५ मीटर चौडाइमा निर्माण हुने पुलका लागि सुरुमा ३ करोड ३२ लाख ५५ हजार १ सय ६९ रुपैयाँको लागतमा सम्झौता भएको थियो । पछि डिजाइन परिवर्तन पश्चात ५ करोड ६९ लाख २४ हजार ५ सय ९८ रुपैयाँ पु¥याईएको हो । तर पनि ठेकेदारले पुल निर्माणको काम अलपत्र छाडेका हुन् । प्रमुख जिल्ला अधिकारी पन्तले सरकारको निर्देशन अनुसार ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने ठेकेदार कारवाही प्रकृया सुरु गरेसँंगै कामचोर ठेकेदारहरुको पसिना छुट्न थालेको छ । जिल्लामा पाँच वर्षदेखि ठेक्का लिएका पुल, विद्यालय भवन, स्वास्थ्य चौकी ,सडक लगायतका पूर्वाधारहरु एक दर्जन हाराहारीका ठेकेदारले अलपत्र छोडेका छन् । उनीहरुहरुलाई धमाधम प्रशासनमा झिकाई स्पस्टीकरण सोध्ने तथा कारवाही गर्न थालिएसंगै ठेकेदारहरुको भागाभाग सुरु भएको छ । जिल्लाभरको विवरण अध्ययन गर्दा पाँच जना बढी ठेकेदार कारवाहीको दायरामा ल्याउनुपर्ने देखिएको प्रमुख जिल्ला अधिकारी पन्तले बताए । जिल्लामा यस्ता कामचोर ठेकेदारको संख्या धेरै रहेकाले तिनिहरुलाई दबाब नदिएसम्म विकाश निमार्णले गति नलिने जिल्ला समन्वय समितीका अध्यक्ष जय बहादुर श्रेष्ठले बताए । पुर्वधारको ठेक्का लिएर अलपत्र छाडी भागी हिड्ने ठेकेदारको नाम कालोसुचिमा हाल्नुपर्ने स्थानीयको माग छ ।
ओखलढुंगामा काम नगर्ने ठेकेदार पक्राउ ,पक्राउ पर्ने डरले ठेकेदारहरुको भागाभाग
- प्रकाशित मिति: बुधबार, जेष्ठ २३ २०७५
- तामाकोसी खबर