रामेछापमा विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइयो

  • प्रकाशित मिति: मंगलबार, जेष्ठ २२ २०७५
  • तामाकोसी खबर

रामेछाप । जेठ २२ गते,
आज विश्व वातावरण दिवस रामेछापमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । मान्छेलाई प्रकृतिसँग नजिक पार भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइएको हो ।
दिवसका अवसरमा सरकार तथा वातावरणका क्षेत्रमा काम गर्दै आएका विभिन्न संघसंस्थाले जिल्लामा चेतनामुलक कार्यक्रम गरेका छन्
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा पनि वातावरण दिवसको अवसरमा विभिन्न सरसकारी तथा गैर सरकारी संघसंस्थाहरुको अगुवाइमा चेतनामुलक र्यालीको आयोजना गरिएको छ । जिल्ला समन्वय समिति रामेछापका प्रमुख , मन्थली नगरपालिका प्रमुख उपप्रमुख विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागितामा भएको र्यालीले मन्थली बजार परिक्रमा गरेको थियो ।
र्याली पछि देवकोटा चोकमा भएको कोणसभामा बोल्दै जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले स्वच्छ बाताबरण बनाउन सबै लागि पर्नुपर्ने बताए । उनले बजार क्षेत्रमा धेरै प्रदुषण हुने भएकाले यस्ता क्षेत्रहरुमा नगरपालिकाले स्वच्छ, हराभरा, हरियाली कार्यक्रमलाई प्रभावकारी ढंगले संचालन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले वातावरण स्वच्छ राख्नका लागि नगरपालिका गम्भिर रहेको बताए ।
स्वच्छ, हराभरा, हरियाली र सफा सहर कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय नागरिकले सहयोग गर्नुपर्ने बताए । नगर प्रमुख बस्नेतले बजार क्षेत्रमा हुने बाताबरण प्रदुषणलाई मध्यनजर गर्दे बजार क्षेत्रको उपयुक्त स्थानहरुमा रुख विरुवा रोप्ने बताए ।
वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ देखि जुन ५ जुन तारिखलाई विश्व वातावरण दिवसका रुपमा बर्से्नि मनाउन थालिएको हो।
यसै बिच सरसफाई सप्ताह पनि मंगलबारबाटै सुरु भएको छ । सरसफाई सप्ताहको अवसरमा हप्ताभरिनै विभिन्न कार्यक्रम आयोजना गरिने निर्णय भएको छ । सोही सन्दर्भलाई जोडेर आगामी जेठ २७ गते रामेछाप जिल्लालाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिने कार्यक्रम रहेको छ ।