गणतन्त्र दिवस रामेछापमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो

  • प्रकाशित मिति: मंगलबार, जेष्ठ १५ २०७५
  • तामाकोसी खबर

रामेछाप । जेठ १५ गते,
आज गणतन्त्र दिवस २०६५ सालमा संविधानसभाको पहिलो बैठकबाट स्थापित गणतन्त्र आजदेखि १० वर्ष पूरा भएर ११ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । २०६२र०६३ सालमा भएको जनआन्दोलनले मुलुकमा शताब्दीऔं लामो राजतन्त्रलाई समूल अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना गरेको थियो । २०६४ सालको चैत्रमा सम्पन्न संविधानसभा निर्वाचन र त्यसपछि बसेको संविधानसभाको पहिलो बैठकले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । गणतन्त्र घोषणा भएसंगै ईतिहासको अन्तिम राजाका रुपमा पुर्व राजा ज्ञानेन्द्र शाहा दर्ज भएका थिए ।
यता गणतन्त्र दिवसका अवसरमा रामेछापमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । गणतन्त्र दिवस जिल्ला समारोह समिति रामेछापले सदरमुकाम मन्थलीमा प्रभात फेरीको आयोजना गरेको छ । देवकोटाचोकबाट सुरु भएको प्रभातफेरी जिल्ला समन्वय समितिको प्राङगणमा गएको टुङगीएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्का , मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेत , प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा , नागरिक समाजका अगुवा रामचन्द्र वियोगी लगाएतले गणतन्त्रको उपलब्धीका बारेमा चर्चा गरेका थिए ।
उनीहरुले नेपालमा गणतन्त्र बलियो हुदै गएको बताए । लोकतान्त्रीक गणतन्त्र मार्फत जनताको आकांक्षाहरु पुरा हुने उनीहरुले विश्वास ब्यक्त गरे । कार्यक्रममा सरकारी कार्यालयका प्रमुख , सुरक्षा निकायको प्रमुखहरुको सहभगिता रहेको थियो ।