ओखलढुंगा । जेठ १४ गते,
ओखलढुंगाका सामुदायिक विद्यालयहरुले पछिल्लो समय विद्युतीय हाजिरीको अभ्यास थालेका छन् । शिक्षकहरुको उपस्थितीलाई नियमित गरी खस्कदै गएको शिक्षाको गुणस्तरलाई बृद्धि गर्न सामुदायिक बिद्यालयहरुले ‘इ हाजिरी’को अभ्यास थालेका हुन् । जिल्लामा हालसम्म दुई ओटा सामुदायिक विद्यालयले ‘इ हाजिरी’को प्रयोग गरिरहेका छन, भने अन्य प्रकृयामा छन् । विद्युतीय हाजिरी प्रयोग गर्ने विद्यलयमा फुलमती मावि खिजीदेम्बा र सरस्वती मावि मोलुङ रहेको छ । सामुदायिक विद्यालयमा पढाईको गुणस्तरलाई लिएर प्रश्न उठ्ने गरेकाले त्यस्ता प्रश्नलाई समेत न्युनिकरण गर्न विद्युतीय हाजिरीले महत्वपुर्ण भुमिका खेल्ने शिक्षा बिकाश तथा समन्वय इकाई ओखलढुंगाका प्रमुख खगेन्द्र श्रेष्ठले बताए ।
विद्युतीय हाजिरीको प्रयोगले विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई नियमित बिद्यालयमा उपस्थीत गराउने उनको भनाई छ । यसले शैक्षिक सुधारमा समेत धेरथोर टेवा पुग्ने छ । पछिल्लो समय स्थानिय सरकार गठन भई सञ्चालन आएसंगै गाउँपालिकाहरुले कार्य्विधि नै बनाई सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी अनिवार्य गरेको छ । सोही अनुरुप ग्रामिण भेगका विद्यालयहरु समेत विद्युतीय हाजिरीको अभ्यासमा छन् । ओखलढुंगामा हाल ३ सय ३१ वटा सामुदायिक विद्यलय रहेका छन् । ती मध्ये विद्यार्थी संख्या कम भएका कारण ४ वटा विद्यालय भने बन्द अवस्थामा छन् ।
सामुदायिक विद्यालयमा बिद्युतीय हाजिरीको अभ्यास सुरु
- प्रकाशित मिति: सोमबार, जेष्ठ १४ २०७५
- तामाकोसी खबर