रामेछाप । जेठ २ गते,
रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ९ पुरानागाउँको बाहुनचुरामा शहरी स्वास्थ्य केन्द्र संचालनमा आएको छ । वडा नम्बर ९ का वडा अध्यक्ष वुद्धीबहादुर पुलामी मगरको अध्यक्षतामा भएको कार्यक्रममा मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले बुधबार शहर स्वास्थ्य केन्द्रको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै नगर प्रमुख बस्नेतले अत्यावश्यक ठाउँमा शहरी स्वास्थ्य केन्द्र संचालन भएको भन्दै खुशी व्यक्त गरे । उनले शहरी स्वास्थ्य केन्द्रलाई प्रभावकारी स्वास्थ्य सेवा सहित संचालन गर्नका लागि मन्थली नगरपालिका हरप्रकारको सहयोग गर्न तयार रहेको बताए ।
फरक प्रसङगमा बोल्दै नगर प्रमुख बस्नेतले मन्थली नगरपालिका ९ पुरानागाउँ भित्रका बिजुली बत्ति नपुगेका ठाउँमा आगामि एक बर्षभित्र विद्युतीकरण गर्ने प्रतिवद्धता जनाए । उनले जिल्लाकै चुनौतीका रुपमा रहेको रुइदासे थानापति सडक आयोजनालाई पनि आगामि एक बर्षभित्र सम्पन्न गर्ने प्रतिवद्धता जनाएको पुरानागाउँ स्वास्थ्य चौकीका इन्चार्ज राजकुमार आरणले जानकारी दिए ।
कार्यक्रममा वडा अध्यक्ष वुद्धी बहादुर पुलामी मगरले शहरी स्वास्थ्य केन्द्र संचालन भएपछि बाहुनचुराका नागरिकको स्वास्थ्य सेवा लिन टाढा जानुपर्ने बाध्यता अन्त्य भएको बताए । उनले शहरी स्वास्थ्य केन्द्रलाई प्रभावकारी रुपमा संचालन गर्नका लागि वडा कार्यालयले कुनै कसर बाँकि नराख्ने बताए । कार्यक्रममा मन्थली नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक रामप्रसाद प्रसाई, पुरानागाउँ स्वास्थ्य चौकीका इन्चार्ज राजकुमार आरण, शहरी स्वास्थ्य केन्द्र बाहुनचुराका प्रमुख महेश कुमार श्रेष्ठ लगाएतले बोलेका थिए । आफ्नो गाउँमा सहरी स्वास्थ्य केन्द्र स्थापना भएर सेवा दिन थालेपछि बाहुनचुराका नागरिकहरु खुशी भएका छन् ।
रामेछापको बाहुनचुरामा शहरी स्वास्थ्य केन्द्र संचालन
- प्रकाशित मिति: बुधबार, जेष्ठ २ २०७५
- तामाकोसी खबर