पत्रकार महासंघ रामेछापको १७ औँ साधारण सभा एवम् प्रथम प्रदेश अधिवेशन

  • प्रकाशित मिति: शनिबार, बैशाख २२ २०७५
  • तामाकोसी खबर

रामेछाप । वैशाख २२ गते ,
नेपाल पत्रकार महासंघ रामेछापको १७ औँ साधारण सभा एवम् प्रथम प्रदेश अधिवेशन शनिवार मन्थलीमा सम्पन्न भएको छ । पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुङ्गेलको अध्यक्षत एवं मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख बस्नेतले पत्रकारहरुसँग समन्वय गरेर अब छिट्टै मन्थली नगरपालिकाले पत्रकारहरुको अक्षयकोष स्थापना गर्ने बताए । उनले नगरपालिकाबाट पत्रकारहरुको क्षमता विकासको तालिम संचालनको लागि बजेट विनियोजन गर्ने प्रतिवद्धता पनि जनाए ।
व्यक्तिको शासन नभएर विधिको शासन हुनुपर्नेमा जोड दिँदै उनले मन्थली नगरपालिकामा संचालित पाँच लाख भन्दा बढिका योजना अनुगमन गर्न उपमेयरको अध्यक्षतामा पाँच समिति गठन गरिएको पनि जानकारी दिए । यो भन्दा मुनिका योजना वडा कार्यालयले नै अनुगनम गर्न उनले बताए । कार्यक्रममा महासंघको साङ्गठनिक प्रतिवेदन पत्रकार महासंघ रामेछापका सचिव नवराज श्रेष्ठले प्रस्तुत गरेका थिए । महासंघको आर्थिक प्रतिवेदन भने अध्यक्ष रमेश ढुङेलले प्रस्तुत गरेका थिए । आर्थिक प्रतिवेदनमा यस वर्षको २९ लाख ३ हजार ३ सय १३ रुपैँयाको आय ब्यय विवरण प्रस्तुत गरिएको छ । साधारण सभाले दुवै प्रतिवेदनलाई सुझाव सहित अनुमोदन गरेको छ ।