रामेछाप । वैशाख ९ गते ,
नेपाल मगर संघ रामेछापले २५६२ औँ वुद्ध जयन्तिको अवसरमा यहि बैशाख १७ गते विशेष झाँकि प्रदर्शनका साथै वृहद साँस्कृत कार्यक्रम आयोजना गर्ने भएको छ । संघले बौद्ध गुम्बा विहार संरक्षण संघ रामेछापसँग सहकार्य गरी वुद्ध जयन्तिको अवसरमा सो कार्यक्रम आयोजना गर्न लागेको हो ।
संघले शनिबार मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रमको बारेमा जानकारी गराएको हो । कार्यक्रमका बोल्दै मगर संघका जिल्ला अध्यक्ष खड्गबहादुर आलेमगरले कार्यक्रम मगर समुदायबाट प्रतिनिधित्व गर्ने संघिय मन्त्रीको प्रमुख आतिथ्यतामा गर्न लागिएको जानकारी दिए । उनले कार्यक्रमको लागि विभिन्न व्यक्ति तथा संस्थाहरुसँग अनुरोध गरिएको पनि बताए ।
कार्यक्रममा कलाकारहरु राजेन्द्र कुमार कार्की, रेशम थापा, हरि थापा, सिता थापा, प्रकाश कटुवाल, सुर्य पुर्वछाने मगर, शिवसागर मगर, रमिता मगर, कुमार कार्की,कल्पना सुनुवार, राम कुमार पौडेल, युनिक भोजराज विक, सन्ध्या सानु लगायतको वृहत सास्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । यस्तै राम कुमार कार्की, तिर्थविरक्त पाख्रिन, उत्तम पौडेल, सुरज चन्द्र घिसिङ, दिपक लाखे, नविना घिसिङ, सशुान्त कार्की, दुर्गेश थापा, पुर्णकला विसि लगाएतका कलकारहरुको पनि प्रस्तुति रहने छन् ।
कार्यक्रमबाट उठेको रकमको कोष स्थापना गरि विपन्न समुदायका बालबालिकाको शिक्षामा खर्च गर्ने योजना रहेको पनि उनले जानकारी दिए । सो कार्यक्रममा वौद्ध लामागुरु तथा मगर समुदायका गुरुहरु समेतको सहभागिता हुने छ ।
कार्यक्रमको लागि पूजाआजाको व्यवस्थापन गुम्बा वौद्ध विहार संघले र सास्कृतिक कार्यक्रमको व्यवस्थापन मगर संघले गर्न लागेको गुम्बा बौद्ध विहार संघ रामेछापका अध्यक्ष हिमालय योञ्जनले बताए । यस्तो कार्यक्रम जिल्लामा पहिलो पटक आयोजना गर्न लागिएको तथा संकलन भएको रकम सामाजिक हितमा प्रयोग गर्न लागिएकोले सहयोगको लागि समेत आयोजकले पत्रकार मार्फत आग्रह गरे ।