रामेछापको भटौलीमा माझी भाषाको पण्डुलिपि तालिम

  • प्रकाशित मिति: शुक्रबार, चैत्र ३० २०७४
  • तामाकोसी खबर

रामेछाप । चैत ३० गते,
माझी जातीको भाषालाई बचाइराख्ने उद्धेश्यले आयोजना गरिएको ७ दिने माझी भाषको पाठ्यक्रम तथा पाठ्यपुस्तकको पण्डुलिपि निर्माण तालिम शुक्रबार सम्पन्न भएको छ । चैत २४ गतेबाट मन्थली नगरपालिकाको भटौली मुगिटारमा आयोजना भएको तालिममा भाषा विज्ञ अमृत योञ्जन तामाङ, धन बहादुरर माझी लगाएत भाषा क्षत्रका ज्ञाताहरुले तालिम दिएका थिए । तालिममा मन्थली नगरपालिका , खिम्ती लगाएतका ठाउँवाट माझी समुदायका शिक्षकहरुको सहभागिता रहेको थियो । यसै आर्थिक बर्षवाट जिल्लाको नौ स्थानमा माझी भाषा सम्बन्धी पाठ्यपुस्तकको पढाई सुरुवात गरिने माझी भाषका अभियान्ता श्रीबहादुर माझीले जानकारी दिए ।

मन्थली नगरपालिकाले बजेटनै छुट्याएर माझी भाषाको विकास र संरक्षणका लागि महत्वपुर्ण काम गरेको माझी विकास अनुशन्धान परिषदका अध्यक्ष धन बहादुर माझीले बताए । तालिम समापन कार्यक्रममा बोल्दै मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले आफु नेत्तृत्वको स्थानीय सरकार माझी भाषाको संरक्षण र पर्वद्धनमा सवै किसिमको सहयोग गर्न तयार रहेको बताए । विकासको मूलधारबाट माझी समुदायलाई पछि पर्न नदिने उनको भनाई छ । स्थानीय सरकार घरदैलोको सरकार भएकाले आफुले सरकारको अनुभूति दिलाएरै छाड्ने उनले बताए । कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका सदस्य गणेश बहादुर माझी , नेपाल पत्रकार महासंघ रामेछपका उपाध्यक्ष कैलाश खत्री , मन्थली नगरपालिकाका राजनीतिक सल्लाहाकार गणेश खड्का लगाएतले बोलेका थिए ।