रामेछापको मन्थलीमा महिला दलित अगुवाई अभिमुखीकरण तालिम

  • प्रकाशित मिति: आइतबार, चैत्र ११ २०७४
  • तामाकोसी खबर

रामेछाप । चैत ११ गते,
रामेछापको सदरमुकाम मन्थलीमा एकदिने महिला दलित अगुवाई अभिमुखीकरण तालिम आइतबार सम्पन्न भएको छ । मन्थली नगरपालिकाका १४ वटै वडाका महिला दलित जनप्रतिनिधि दलित महिलाहरुको सहभागिता रहेको तालिमको मन्थली नगरपालिकाको आर्थिक सहयोगमा दलित महिला संघ मन्थली रामेछापले आयोजना गरेको हो । तालिम दलित महिला संघकी अध्यक्ष देवकुमारी नेपालीको अध्यक्षता र मन्थली नगरपालिकाकी उपप्रमुख माया कार्कीको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवं मन्थली नगरपालिका उपप्रमुख कार्कीले दलित महिलाहरुका लागि मन्थली नगरपालिकाले यस्ता कार्यक्रम संचालनमा जोड दिने बताइन् । उनले यस्ता कार्यक्रमले दलित, महिला सम्बन्धी नेपालको कानुन् र दलित महिला जनप्रतिनिधिहरुको काम कर्तव्य र अधिकारककार सवालमा चेतना दिने भएकाले यसले क्षमताको विकास गर्ने बताइन् ।
कार्यक्रममा रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञप्रसाद शर्माले दलित महिलाका सवालमा देखा परेका प्रशासनिक समस्या समाधान गर्नका लागि जिल्ला प्रशासन कार्यालय सदैव प्रतिवद्ध रहेको बताए ।
कार्यक्रममा मानवअधिकार कर्मी एवं पत्रकार नवराज पथिक, पत्रकार महासंघ रामेछापका सचिव नवराज श्रेष्ठ , नेपाल राष्ट्रिय दलित कल्याण संघ रामेछापका अध्यक्ष लेख बहादुर विक, समता मञ्च नेपालका अध्यक्ष सिताराम लोहार लगाएतले दलित महिला जनप्रतिनिधिहरुलाई स्थानीय सरका संचालन ऐनका बारेमा थाहा हुनुपर्ने बताए । यसका लागि यस्तै तालिम कार्यक्रम जरुरी रहेको उनीहरुले बताए ।