रामेछाप । चैत २ गते ,
रामेछापको सदरमुकाम मन्थलीमा पुँजी बजार सम्बन्धी जनचेतना अभिवृद्धि तथा लगानी कर्ता प्रशिक्षण एवं अन्र्तकृया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष श्याम थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले समृद्ध नेपाल र सुखी नेपाली बनाउन आर्थिक लगानी आवश्यक रहेको बताए । 
यसका लागि लगानी मैत्री बाताबरण निर्माण गर्न सरोकारवाला निकाय लाग्नुपर्ने उनको भनाई छ । उनले रामेछाप जिल्लामा जलविद्युत , होटल व्यवसाय र पर्यटन क्षेत्रमा पुँजी लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरे । स्थानी सरकार लगानी मैत्री बाताबरण बनाउन सक्षम रहेको समेत उनले बताए । मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले रामेछापमा केही सहकारी र संस्थाहरुले लेखापरिक्षण गर्दा वास्तविकता भन्दा फरक देखाउने गरेकाले यसमा निगरानी राख्न सरोकारवाला निकायलाई आग्रह गरे ।
संस्था धरासायी भएपनि विभिन्न सेवा र सुविधाका लागि नाफामुलक देखाउने प्रचलनका कारण विभिन्न समस्या हुने गरेको उनको भनाई छ । कार्यक्रममा धितोपत्र बोर्डका उपनिर्देशक नारायण प्रसाद शर्मा , सिडिएमका प्रतिनिधि योगराज जोशी र स्टक ब्रोकर यसोसियसन नेपालका सचिव टंक प्रसाद गौतमले आआफ्नो संस्थागत कामका बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए । कार्यक्रमका सहभागिहरुलाई स्वागत गर्दै रामेछाप उद्योग वाणिज्य संघका महासचिव जगन्नाथ दाहालले उद्योगीहरुलाई लगानी मैत्री बाताबरण निर्माणका लागि सम्बन्धीत निकाय गम्भिर हुनुपर्ने बताए ।
रामेछापको मन्थलीमा पुँजी बजार सम्बन्धी जनचेतना अभिवृद्धि तथा लगानी कर्ता प्रशिक्षण
- प्रकाशित मिति: शुक्रबार, चैत्र २ २०७४
- तामाकोसी खबर