रामेछाप । फागुन २७ गते,गम्भिर वि.क
रामेछाप जिल्लाको मन्थली नगरपालिकामा दलित गैर–सरकारी संस्था महासंघ गठन भएको छ । नगरपालिका भित्र रहेका दलित गैरसरकारी संस्थाहरुलाई एकिकृत गरि शनिवार महासंघ गठन गरिएको हो । छत्र बहादुर मुग्रातीको संयोजककत्वमा गठित ७ सदस्यीय महासंघमा मन्थली नगरपालिका भित्र संचालित समता मञ्च नेपाल, प्रगतिशिल दलित सेवा समाज, रामेछाप दलित सशक्तिकरण केन्द्र, पञ्चेबाजा संरक्षण समाज, भवानीश्वर भेटघाट सेवा समाज र दीगो विकासका लागि सहकार्य नेपाल नामक ७ वटा दलित गैर–सरकारी संस्था आवद्ध छन् ।
महासंघले तत्काल दलित लक्षित वजेट विनियोजन गर्न र स्थानीय तहमा दलितमैत्री कानुन निर्माण गर्न पैरवी गर्ने संयोजक छत्र मुग्रातीले बताए । मन्थली नगरपालिकाभित्र घटेका जातीय छुवाछुतका घटनामा पनि महासंघले वकालत गर्ने संयोजक मुग्रातीको भनाई छ । महासंघले शनिबारै मन्थली नगरपालिकाको आगामी आ.व. ०७५÷७६ मा हुने नगरसभालाई लक्षित गर्दै दलित लक्षित योजना तर्जुमा गोष्ठी समेत सम्पन्न गरेको छ । गोष्ठीका प्रमुख अथिति एवं मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले आय आर्जन, सीपमुलक कार्यक्रम भन्दा पनि दलित समुदायको क्षमता वृद्धिको लागि सशक्तिकरणका योजनाहरु तय गर्न आग्रह गरे ।
मन्थली नगर कार्यपालिका सदस्य, दलित महिला वडा सदस्यहरु, महासंघमा आवद्ध ६ वटा दलित संस्थाका प्रतिनिधिहरु लगायत जिल्लास्तरका दलित अधिकारकर्मीहरुको समेत उपस्थिति रहेको कार्यक्रममा मन्थली नगर कार्यपालिकाका सदस्य उद्धव रम्तेलले नगर भित्रका दलितको मुख्य समस्या जातीय छुवाछुत नै भएकोले यसको अन्त्यको लागि नगरपालिकाले ठोस नीति तथा कार्यक्रम तय गुर्नपर्ने बताए ।
रामेछापको मन्थली नगरपालिकामा दलित गैसस महासंघ गठन
- प्रकाशित मिति: आइतबार, फाल्गुन २७ २०७४
- तामाकोसी खबर