१. नेपालमा वन सम्पदाको महत्वबारे चर्चा गर्नुहोस् ।
वन र वनबाट प्राप्त हुने वस्तु वन सम्पदा हो । वन सम्पदा प्राणीसँग जोडिएको वस्तु हो । पृथ्वीमा भएका सारा प्राणीले खाने वस्तुदेखि त्यसलाई पचाउने र बिरामी हुँदा बचाउने सम्मका सम्पूर्ण वस्तुको स्रोत वन सम्पदा हो । ‘हरियो वन, नेपालको धन’ महत्व आफैँमा प्रस्ट छ । यसको बाँकी महत्वलाई निम्नानुसार चर्चा गर्न सकिन्छः
– औद्योगिक कच्चा पदार्थको स्रोत जस्तैः फर्निचर, कागज, सलाई, जस्ता उद्योग,
– जैविक विविधताको संरक्षणमा योगदान,
– खाद्य पदार्थ प्राप्तिको स्रोत जस्तैः धान, मकै, फलफुल,
– प्राकृतिक सौन्दर्यमा बढोत्तरी,
– पर्यटन उद्योगको प्रवद्र्धनमा सहयोग,
– वातावरण सन्तुलन तथा भूक्षय नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह,
– रोजगारी सिर्जनामा सहयोग,
– राजस्व सङ्कलनमा योगदान जस्तै काठदाउरा, जडिबुटी बिक्री,
२. नेपालको आर्थिक विकासमा निजी क्षेत्रले खेल्ने भूमिकाबारे छोटकरीमा उल्लेख गर्नुहोस् ।
उच्च, दिगो, फराकिलो, समावेशी एवम् न्यायिक आर्थिक वृद्धि आर्थिक विकास हो । नेपालको संविधान, २०७२ को धारा ५१ (घ) (१) मा सार्वजनिक, नीजि र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकासमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने नीति छ । विकास सहायता नीति, २०७१ ले निजी क्षेत्रलाई विकासको एक साझेदारका रूपमा स्वीकार गरेको छ । चालू योजनाले विकासमा निजी क्षेत्रको भूमिका प्रस्ट गरेको छ । सरकारले गरेको यस व्यवस्थाबाट आर्थिक विकासका तीन संवाहक सरकार, सहकारी र निजी क्षेत्रमध्ये निजी क्षेत्रको पनि महत्वपूर्ण भूमिका हुन्छ भन्ने प्रस्ट हुन्छ । यसले मुलुकको आर्थिक विकासमा खेल्ने भूमिकालाई निम्न बुँदामा उल्लेख गर्न सकिन्छः
– वस्तु तथा सेवाको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने,
– रोजगारी सिर्जना गर्ने,
– स्वच्छ प्रतिस्थापन गरी निर्यात वृद्धि गर्ने,
– मूल्य वृद्धि नियन्त्रणमा सहयोग गर्ने,
– आयात प्रतिस्थापन गरी निर्यात वृद्धि गर्ने,
– आफूमा भएको ज्ञान, सीप, अनुभव एवम् पुँजीको अधिकतम प्रयोग गर्ने,
– मुलुकमा नयाँ नयाँ प्रविधि भित्र्याउने,
– विदेशी मुन्द्रा आर्जन गर्ने,
– कानुन अनुसार कर तिरेर राजस्व सङ्कलनमा योगदान गर्ने,
– जनशक्ति, कृषि, उद्योग, व्यापार, पर्यटन आदिको विकास गर्न लगानी वृद्धि गर्ने,
– सामाजिक उत्तरदायित्व पूरा गर्ने,
– मुलुकको आर्थिक, सामाजिक रूपान्तरणमा सहयोग गर्ने,
– सरकार र सहकारी क्षेत्रसँग समन्वय गरी कार्य गर्ने,
३. नागरिक समाजका दायित्व के–के हुन् ? उल्लेख गर्नुहोस् ।
देश र जनताको सेवा गर्ने स्वयंसेवी संस्था नागरिक समाज हो । यो गैर राजनीतिक र गैर मुनाफामुखी प्रकृतिको हुन्छ । नागरिक समाज सरकारमा नरहने संस्था भएकाले सरकारको नागरिकप्रति जुन दायित्व रहन्छ, त्यस्तै दायित्व नागरिक समाजको नहुन सक्छ तर पनि मुलुकको हितका लागि नागरिक समाजको निश्चित दायित्व हुनेगर्दछ । जसलाई निम्न अनुसार उल्लेख गर्न सकिन्छः
– नागरिकका हक अधिकार स्थापित गर्ने, सुनिश्चित गर्ने,
– लोकतान्त्रिक पद्धतिको विकासमा आवश्यक भूमिका निर्वाह गर्ने,
– सरकारलाई जनताप्रति जिम्मेवार र उत्तरदायी बनाउन सहयोग गर्ने,
– व्यक्तिगत, संस्थागत एवम् दलगत स्वार्थभन्दा माथि उठेर पिछडिएको वर्ग, क्षेत्र, लिङ्गको आवाज बुलन्द रूपमा उठाउने,
– भ्रष्टाचार गर्नेलाई सामाजिक बहिष्कारको अभियान सञ्चालन गर्ने,
– सहर केन्द्रित मात्र नभएर ग्रामीण केन्द्रित समेत भई सशक्त रूपमा देश विकासमा सहयोग गर्ने,
– सरकारलाई जनताको अवस्था र जनतालाई सरकारको गतिविधिका बारेमा जानकारी दिने सूचना केन्द्रका रूपमा कार्य गर्ने,
– मुलुकमा आर्थिक अनुशासन, शान्ति सुरक्षा, कानुनको पालना, सुशासन कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने,
– राजनीतिबाट सदैव अलग र तटस्थ रहेर निष्पक्ष रूपमा जनहितका कार्य गर्ने,
@गोरखापत्र