असोज १८–रामेछाप ।
उचित प्रचार र आवश्यक पुर्वाधार नबन्दा पर्यटकिय र धार्मीक ऐतिहाँसिक र पर्यटकिय महत्वको सैलुङ क्षेत्र ओझेलमा परेको छ । रामेछाप र दोलखाको सिमानामा पर्ने सैलुङ क्षेत्र काठमाडौँ र तराईबाट नजिकै रहेर पनि प्रचार नहुँदा ओझेलमा परेको हो ।
प्राकृतिक रुपमा बनेका सयवटा थुम्काबाट सैलुङ बनेको छ । सयवटा थुम्का भएकै कारण यसलाई सैलुङ भनिएको हो । चिसो मौषममा हिउँ पर्ने सैलुङ हिउँ खेल्न र प्राकृतिक मनोरम, जंगल तथा हिमालको दृश्यावलोकनको लागि पनि त्यतिकै रमणीय छ । धार्मीक हिसावले पनि सैलुङ हिन्दु र वौद्ध धर्मालम्बिहरुको संगमस्थल नै हो । हिन्दुहरु यस क्षेत्रलाई शिवको तपोभूमिको रुपमा लिन्छन् भने वौद्धधर्मालम्बिहरु वुद्धले पाइला टेकेको ठाउँको रुपमा लिने गरेको रामेछापको डडुवा खोलाखर्कका दावछिरी शेर्पाले बताए ।
अहिले जिल्ला सदरमुकाम मन्थलीबाट दोरम्बाहुँदै सैलुङसम्मको कच्चि सडक निर्माण भई सुक्खा मौषममा यातायातका साधनहरु पनि चल्न लागेका छन् । यसै गरी विपिमार्गको झाँगाझोली रातमाटाबाट सित्खा हुँदै सुनकोसी नदीको पुल तरी गाल्पा निस्किएर पनि सैलुङ पुग्न सकिन्छ । सडक बनेसँगै सैलुङ आउने आन्तरिक पर्यटकहरु भने फाट्फुट् रुपमा देखिन लागेका छन् । यसका साथै वौद्ध लामाहरु पनि रामेछापको डडुवामा रहेको राजभिर गुम्मामा जाने क्रममा सैलुङ पुग्ने गर्दछन् । तथापि विदेशी पर्यटकहरु भने खासै सैलुङ पुग्ने गरेका छैनन् ।
एकदुइदिन समयमा निकालेर घुम्न निस्कनेहरुले सो क्षेत्रमा पर्ने ठुलो सैलुङ महादेव, राजभिर गुम्बा तथा गौश्वारामा रहेको सैलुङेश्वर महादेवको गुफा, हुुँदै दोम्बाको अग्लेश्वरी, खाँडादेवीमा रहेको ऐतिहाँसिक खाँडादेवी मन्दिरको दर्शन गरी सिन्धुलीको दुुम्जामा रहेको कुशेश्वर महादेवको दर्शन गरेर काठमाडौँ फर्कन सक्ने स्थानीयहरु बताउँछन् ।
यो मार्गको यात्रा पदयात्रीहरुको लागि यी स्थलमा घुम्न आउनेहरुको लागि लागि डडुवा, दोरम्बा, खाँडादेवी लगायतका स्थानमा होमस्टे पनि बनाइएका छन् । यसले गर्दा पर्यटकहरुलाई बस्ने खाने ठाउँको समेत समस्या नभएको खाँडादेवी विकास कोष रामेछापका अध्यक्ष शेरबहादुर तामाङ बताउँछन् ।
सैलुङ प्रकृतिले सिँगारिएको त छँदैछ । यहाँ जडिबुटीको खानी पनि छ । विभिन्न जातका जडिबुटीहरु सैलुङको जंगलमा त्यतिकै सडेर गएका छन् । त्यही सैलुङको जडिबुटी खाएर हुकिएको चौँरी सैलुङको अर्काे गहना हो । सैलुङमा पुगेपछि चौरी हेर्न त पाइँन्छन नै चौरीको दुधबाट बनेका विभिन्न परिकारहरु खान पनि पाइन्छ । चौरीको दुध, दही मोहीको साथै नौनी, ध्यु र दुधबाट बनेको छुर्पी समेत खान पाइन्छन् ।
