रामेछाप कलाकार समाजद्धारा दर्जनौं स्रष्टा सम्मान: दशजनालाई विशेष

  • प्रकाशित मिति: आइतबार, असोज १ २०७४
  • तामाकोसी खबर

असोज १ काठमाडौं ।

रामेछापमा जन्मभई बिभिन्न ठाउँमा कर्मथलो बनाउँदै कलाकारितामा लागेका स्रष्टाहरुको संगठन रामेछाप सांस्कृतिक कलाकार समाजले दर्जनौं स्रष्टालाई सम्मान गरेको छ । राजधानीमा शनिबार एक कार्यक्रमका बिच दुई दर्जनबढी कलाकारका साथमा केहि समाजसेवीहरुलाई पनि सम्मान गरिएको थियो ।



विजयादशमी तथा शुभ दिपावलीको अवसरमा स्रष्टा सम्मान तथा बृहत् सांस्कृतिक कार्यक्रममा दशजनालाई विशेष सम्मान पनि गरियो जसमा राष्ट्रसेवक वेदबहादुर कार्की, अभिनेत्री मिथिला शर्मा, गायक नारायण रायमाझी, लोक गायक रेशम थापा, पत्रकार मात्रिका पौडेल, खेलकुद जगतबाट जिल्ला तथा राष्ट्रलाई चिनाउने खेलाडी भावना सुनुवार, लोक गायिका सीता थापा, लोक गायक रोज मोक्तान, आदिवासी जनजाति चलचित्र  महासंघका अध्यक्ष  अमृतबहादुर सुनुवार र लोक गायक राजेन्द्रकुमार कार्कीलाई बिशेष सम्मानका साथ दोसल्ला ओडाई सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि गृहराज्य मन्त्री श्यामकुमार श्रेष्ठले सम्मानित ब्यक्तिहरुलाई सम्मान पत्र प्रदान गरेका थिए ।

आयोजक संस्था रामेछाप सांस्कृतिक कलाकार समाजका अध्यक्ष गायक प्रकाश कटुवालले रामेछापसँग सम्बन्धित कलाकारहरुलाई सम्मान गर्न पाउदा खुसी लागेको बताएका थिए । साथै उनले रामेछाप जिल्लासँग जोडिएर बिभिन्न ठाउँलाई कर्मथलो बनाउँदै जिल्ला तथा देशलाई नै चिनाएका कलाकारहरुलाई सम्मान गरिएको बताएका थिए । कार्यक्रममा दुई दर्जन बढी कलाकारहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रमको शुरुवातमा १ सय ७० बढी आवाज निकाल्न सक्ने कलाकार रमेश दुलालले सबैलाई मुखबाट मादल बजाएर स्वागत गरेका थिए भने उपस्थित अतिथि तथा महानुभावहरुको अनुरोधमा अन्य आवाज पनि निकालेर सुनाएका थिए । कार्यक्रममा रमेश दुलालसँगै मोडल एलिना रायमाझी, गायिका तथा मोडल सिर्जु अधिकारी, गायिका भुमिका गिरी, साबित्री जोशी, गायक अमृत खाती लगायतका दर्जनौं कलाकारलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रमको  रेडियो तिनलाल एफएम ८८.६ मेगाहर्ज, रामेछाप जिल्लाकै पहिलो अनलाइन तामाकोसी अनलाइन, आर्टिष्ठ अनलाइन, रेडियो तामाकोसी र रामेछाप अनलाइन लगाएत मिडिया पार्टनरको रुपमा रहेका थिए । “नयाँलाई प्रोत्साहन, पुरानालाई सम्मान, कलाकारिताको उत्थानको लागि हाम्रो अधियान” मुल नारा सहित स्थापना भएको समाजले विगतदेखिनै विभिन्न रचनात्मक कार्यहरु गर्दै आएका छन् ।