रामेछाप । साउन २५ गते,
रामेछाप जिल्लामा हाल सम्म ७८ प्रतिशत रोपाई भएको छ । जिल्लाका विभिन्न ठाउँमा गरी ९ हजार ४ सय ८ हेक्टर क्षेत्रफलमा रोपाई हुनुपर्नेमा साउन २२ गते सम्म ७८ प्रतिशत ७ हजार ३ सय ३८ दशमलव २४ हेक्टर खेतमा मात्रै रोपाई भएको जिल्ला कृषि विकास कार्यालय रामेछापले जनाएको छ ।
रामेछापमा धान रोपाई हुने सबै ठाउँमा रोपाई भए ३० हजार १ सय ३ मेट्रिकटन धान उत्पादन हुनेमा हालसम्म रोपाई भएको ७८ प्रतिशत परिणामलाई हेर्दा २३ हजार ४ सय ८० दशमलव ३४ मेट्रिकटन धान उत्पादन हुने कृषि विकास कार्यालयको अनुमान छ ।
धान रोपाई बढि हुने महिना असार महिनामा यसपाली रामेछापमा जम्मा २५ प्रतिशतमात्रै रोपाई भएको र साउन महिनाको २२ गते सम्म ५३ प्रतिशत रोपाई भएको जिल्ला कृषि विकास कार्यालय रामेछापका वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र कुमार मल्लले जानकारी दिए ।
उनले खनियापानी, चिसापानी, दोरम्बा , रामेछाप लगाएतका ठाउँका तल्लोबेल्डका करिव २५ प्रतिशत र खिम्ती क्षेत्रमा २० प्रतिशत रोपाई हुन बाकि रहेको बताए । यो बर्ष समयमै बर्षा हुन नसक्दा सोचेअनुरुप रोपाई हुन नसकेको उनको भनाई छ । पछिल्लो समयमा बर्षा हुने क्रम जारी रहेकाले साउन महिना भरी किसानहरुले रोपाई गर्ने उनको भनाई छ । वरिष्ट कृषि विकास अधिकृत मल्लले रोपाई हुने माथिल्लो बेल्डमा भने रोपाई भैसकेको दाबि गरे । रामेछाप जिल्लाका साविकका ५५ गाविस मध्य ३५ भन्दा बढि गाविसहरु सुख्खाग्रस्थ छन् । ति मध्य अधिकांस ठाउँमा खानेपानीको समेत समस्या छ ।