हामीलाई सुरक्षित स्थानमा सर्न लगाउनुभयो ,तर उहाँ र छोरीलाई बाढीले बगायो.
रामेछाप । साउन ३ गते,
रामेछापको लिखु गाउँपालिका वडा नम्बर–६, साँघुटारकी कृष्णा तामाङ श्रीमान् र छोरीलाई बाढीले बगाएपछि गहिरो पीडामा छन् । श्रीमान् र छोरीलाई सम्झँदै कृष्णा छिन–छिनमै रुन्छिन् ।दिउँसो परिवारसँगै बिताएका कृष्णाका श्रीमान् अशोक भनिने विमान तामाङलाई शनिबार राति छोरीसँगै बाढीले बगाएर बेपत्ता बनाएको छ । विमानले पुरानो जस्ताले छाएको टहरामा पानी चुहिने भएपछि दिउँसो प्लास्टिक थपेका थिए । उनको परिवारले दुई लाख रुपैयाँमा एक रोपनी खेत बन्धकी कमाउँदै आएको छ । विमानले खेतबाट मकैसमेत भाँचेर ल्याएका थिए । साँझ खाना खाएपछि भने उनी छट्पटाइरहेका थिए । राति करिब ९ बजेदेखि नै पानी दर्किएको थियो । उनी भने आफूलाई धेरै गर्मी भएको भन्दै भित्र–बाहिर गर्दै थिए ।

छिमेकीले ‘सधैं पर्ने पानी हो, डराउनुपर्दैन अब सुत्दा हुन्छ’ भने पनि उनले मानेनन् । राति १ बजेतिर घरमाथि रहेको कुलोमा भेल बढेपछि घरभित्र पनि पस्यो । उनले श्रीमतीलाई ‘कुलो ठूलो आएजस्तो छ, पानी मार्न खोलामा जानुपर्यो’ भने । कृष्णाले भने केही नगर्ने भन्दै सुत्न भनिन् । तर, उनले बाहिर सुतिरहेकी १३ वर्षीया छोरी मनिलालाई आफूसँग जान जिद्धि गरे । उनले खोलामा गएको केही समयपछि छोरालाई फोन गरेर ठूलो बाढी आएको सुनाउँदै आमालाई सुरक्षित स्थानमा सार्न भने । उनले आफूहरू बाँसघारीमा आइपुगेको जानकारी गराए । ‘हामी उठेर छिमेकीको घरमा गयौं तर श्रीमान् र छोरी लामो समय फर्किएनन् । हामी आत्तियौं’, कृष्णाले गहभरि आँसु पार्दै भनिन, ‘छिमेकीहरू त्यसतर्फ जानुभयो तर बाँसघारी नै बगाइसकेको रहेछ । हामीलाई सुरक्षित स्थानमा सर्न लगाउनुभयो तर उहाँ र छोरीलाई बाढीले बगायो ।’
एक छोरा र चार छोरीसहितको तामाङ परिवार गाउँमा जग्गाजमिन नभएपछि फर्पुबाट १८ वर्षअघि खिम्ती बजारमा झरेको थियो । टाउको र पेटको बिरामी कृष्णालाई अर्को साता उपचारका लागि राजधानी लैजाने तयारी थियो । ‘घर बनाएको पैसा अर्को साता आउँछ, त्यसपछि काठमाडौंमा उपचारका लागि लैजाउँला, अहिलेलाई जसोतसो बसौं,’ श्रीमान भनेको सम्झना गर्दै कृष्णाले भनिन्, ‘अब मलाई कसले उपचार गराउला ? बरु छोरीको साटो म आफैं जानुपर्ने रहेछ । म त बिरामी छु, थलिएर मरौंला तर यो बालबच्चाको पालपोषण कसले गर्छ भन्ने चिन्ताले धेरै सताएको छ ।’
बाढी पहिरोमा परि वेपत्ता भएका ३ जनाको अभै पत्ता लागेन
बाढी पहिरोमा परि वेपत्ता भएका ३ जनाको अभै पत्ता लागेको छैन । वेपत्ता भएकामा मध्ये २ जनाको शब आइतबार फेला परेको भए पनि अन्य ३ को अझै पत्तो लाग्
न सकेको छैन ।
मृत्यु हुने मध्ये लिखु ६ की लाल कुमारी खत्रीको शव घरमै र वाशु भनिने जय प्रकाश कार्कीको शव खिम्तीभन्दा करिव ७ किलो मीटर दक्षिण तामाकोसी नदीको किनारमा आइतबार फेला परेको थियो ।
घटनामा परि वेपत्ता भएका अशोक तामाङ, उनकी छोरी मनिता तामाङ र घर सहित खिम्ती खोलाले बगाएको सुमन कुमारी खत्रीको अझै पत्तो लागेको छैन । उनीहरुको खोजि कार्य जारी छ । उनीहरुको जिवितै उद्दार हुने आशा कम हुँदै गएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए ।
सुरुभयो राहात बितरण
जिल्ला दैवी प्रकोप उद्धार समितिले खिम्तीका बाढी पीडित ४ घर परिवारलाई सोमबार बिहान राहात सामाग्रि वितरण गरेको छ । जिल्ला दैविक प्रकोप उद्धार समिति रामेछापका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीका अनुसार ४ घर परिवारलाई अन्न, ओढ्ने ओछ्याउने, त्रीपाल, भाडाँकुँडा तथा नुन तेल लगायतका सामाग्रिहरु वितरण गरिएको छ । पीडितलाई स्थानीय स्तरमा पनि केही राहात सामाग्रि वितरण गरिएको लिखु गाउँपालिकी उपप्रमुख दीपशिखा दाहालले जानकारी दिइन् ।