असार १ गतेदेखि सुरु हुने कक्षा ११ को परीक्षा तयारी पूरा

  • प्रकाशित मिति: बुधबार, जेष्ठ ३१ २०७४
  • तामाकोसी खबर

काठमाडौँ,जेठ ३१ । राष्ट्रिय परीक्षा बोर्डले आगामी असार १ गतेदेखि हुने माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा कक्षा ११ तयारी पूरा गरेको छ ।

शिक्षा मन्त्रालयका सचिव एवम् बोर्डका कावा अध्यक्ष शान्तबहादुर श्रेष्ठले परीक्षा अवधिमा कुनै पनि दल र समूहबाट बन्द–हडतालका कार्यक्रम नगर्न आग्रह गरिएको र त्यस्तो अवस्था आएमा वैकल्पिक व्यवस्थाबाट परीक्षा दिन लगाइने बताउनुभयो । उहाँले विगतको तुलनामा परीक्षा केन्द्र तर्जुमा र व्यवस्थापनमा सुधार भएको दाबी गर्नुभयो ।



परीक्षामा सम्बन्धन प्राप्त तीन हजार ७६५ विद्यालयका कुल चार लाख ४९ हजार ५४ परीक्षार्थीका लागि कुल ९९३ केन्द्र तोकिएका छन् । बोर्डले आज पत्रकारसम्मेलन गरी परीक्षालाई स्वच्छ, मर्यादित, अनुशासित, व्यवस्थित र विद्यार्थीमैत्री एवम् प्रभावकारी वातावरण निर्माणका लागि सबैमा आग्रह गरेको छ ।

बोर्डका सदस्यसचिव डा डिल्लीराम रिमालले गत वर्षको कक्षा १२ को परीक्षामा प्रश्नपत्र नपुगेको लगायतका समस्याका कारण तत्कालीन परीक्षा नियन्त्रक सन्तोषकुमार अर्याललाई निलम्बनपछि भएको छानबिनको प्रतिवेदन प्राप्त भएको र बोर्ड बैठकले थप निर्णय हुने जानकारी दिनुभयो ।