कमलबहादुर बसेल, काठमाडौं ।
नेपालमा ४ महानगरपालिका,१३ उपमहानगरपालिका, २४१ नगरपालिका र ४८६ गाउँपालिका गरी जम्मा ७४४ वटा स्थानीयतहको निर्वाचन दुई चरणमा सकिंदै छ । पहिलो चरणको निर्वाचन अन्तर्गत बैशाख ३१ गते ३, ४ र ६ नम्बर प्रदेशको स्थानीय चुनाव भर्खरै सकिएको छ । यसरी सकिएको पहिलो चरणको निर्वाचनबाट जम्मा १३,२१३ जना स्थानीय जनप्रतिनिधिहरु चुनिएका छन् (आजको मितिसम्म) । पहिलो चरणको चुनाव सिद्धिए लगत्तै दोस्रो चरणको निर्वाचन असार १४ मा गर्ने मिति नेपाल सरकारले तोकेको छ ।
देशभरबाट यसरी स्थानीय जनप्रतिनिधि र मनोनित प्रतिनिधि आउने क्रमजारी छ । विभिन्न पार्टीबाट जनप्रतिनिधि स्थानीय सरकारमा आइरहँदा जनताद्धारा जनताका लागि गरिने शासनको अनुभुति महशुस हुन्छ । यसैगरी “आफ्नो गाउँआफैं बनाउँ” भन्ने नारा यथार्थमा बदल्ने अवसरको रुपमा पनि यसलाई लिन सकिन्छ । यसो भन्दैमा स्थानीय तहमा सवै काम राम्रो हुन्छ भन्ने चाहिं होइन । जनप्रतिनिधि आउने वित्तिकै भ्रष्टाचार कम होला र स्थानीय तहमा सुशासन कायम होला भन्ने स्थिति पनि नहोला ।
स्थानीय जनताद्धारा प्रत्यक्ष र मनोनीत प्रक्रियाबाट निर्वाचित जनप्रतिनिधि भएकोले बजेट बनाउदा देखि खर्च गर्दा सम्म आफ्नै हालि मुहाली हुने भएकोले यसमा झन धेरै भ्रष्टाचार हुने सम्भावना हुन्छ । यसर्थ यसमा आम जनता र सरोकारवालहरु सजग हुनु अत्ति जरुरी छ । जनप्रतिनिधिहरुले पनि आफ्नो कार्यकाल राम्रो बनाउन स्थानीयतहमा सुशासनको प्रत्याभुति दिने खालका कामगर्नु जरुरी छ ।
स्थानीयतहमा सुशासन कायम हुन विभिन्न कुराहरुको आवश्यकता पर्दछ । सुशासन कुनै जादुको छडी होइन जुन तुरुन्तै प्राप्त गर्न सकिन्छ । यो त अनवरत संघर्ष र प्रयासबाट सम्भव हुने कुरा हो । यसमा विभिन्न तह र तप्काका जिम्वेवार जनप्रतिनिधि, प्रशासन तथा सरोकारवालाहरुको उत्तिकै जरुरत पर्दछ । यसमा कार्यकुशलता, व्यक्तित्व, क्षमता आदि कुराको समाञ्जस्यता हुन पर्दछ । यसका साथै संक्षिप्तमा स्थानीयतहमा सुशासन कायम गर्न निम्न आठ कुराको जरुरी देखिन्छ ः–
१. कानुनको शासन,
२. पारदर्शिता,
३. जवाफदेहिता,
४. समावेशिता र समता,
५. उत्तरदायित्व,
६. सहभागिता,
७. सचेत नेतृत्व,
८. कार्यक्षमता र प्रभावकारीता ।
वास्तवमा यी माथिका कुराहरुलाई आत्मबोध गर्ने राम्रो सोच भएको जनप्रतिनिधि नेतृत्व गर्ने प्रशासनिक ठाउँमा पुग्न सके असल शासनको अनुभुति गर्न सकिन्छ । साथै कानूनको पालना गर्ने प्रभावकारी एवं योजना बद्धरुपमा निरन्तर लागि पर्ने, पारदर्शी, जनउत्तरदायि, जवाफदेहि, सबैलाई समान व्यवहार गर्ने जनप्रतिनिधि आजको स्थानीयतहमा आवश्यक छ । यसैगरी समानता र समताको सिद्धान्तलाई आत्मासाथ गर्ने, कार्यक्रम तथा योजना बनाउने प्रक्रियामा सरोकारवाला सबैको सहभागितालाई विशेष जोड दिने, क्षमतावान, कुशल एवं सचेत जनप्रतिनिधि हुनु असलशासनको लागि उत्तिकै आवश्यक छ । साथै नेतृत्वको सोच राम्रो भएर मात्र पनि पुग्दैन त्यो सोचलाई ठाउँमा पुर्याउने र व्यवहारमा उतार्ने क्षमताको पनि उत्तिकै जरुरी हुन्छ ।
यसैगरी कुशल जनप्रतिनिधिले अवका दिनमा गर्नुु पर्ने एक महत्वपूर्ण कार्य भनेको भ्रष्टाचारलाई कसरी कम गर्न सकिन्छ भन्ने पनि हो । किनकी अहिले सम्म कर्मचारीले चलाएको प्रशासनमा भ्रष्टाचार भयो भन्ने धेरैको गुनासो थियो । निजामति कर्मचारीतन्त्रले करिव २० वर्ष चलाएको स्थानीयतहमा केही भ्रष्टाचार भयो होला तर अवका दिनमा भ्रष्टाचार र अनियमितता हुन्न भन्ने ग्यारेन्टी के छ ? आमजनता र सरोकारवालाहरुले बुझ्नु जरुरी छ । साथै आउने दिनमा कसरी भ्रष्टाचारलाई कम गर्न सकिन्छ त्यस तर्फ कसरी अघि बढ्ने जनप्रतिनिधिले बुझ्नु जरुरी छ । यो उनीहरुको कर्तव्य र आजको आवश्यकता पनि हो । जबसम्म स्थानीयतहमा भ्रष्टाचार कम हुन्न तव सम्म दिगो विकास र सुशासन प्रायःअसम्भव छ । त्यस अर्थमा स्थानीय पदाधिकारीले कसरी आउँदा दिनमा भ्रष्टाचार तथा अनियमितता कम गर्न सकिन्छ ? स्थानीयतहमा कसरी सुशासन र जवाफदेहितालाई बढावा दिन सकिन्छ भनी विभिन्न योजना बनाउने बेला आएको छ । सुशासन सजिलै प्राप्त गर्न सकिंदैन । यसका लागि आमजनताको आर्थिक, सामाजिक, राजनैतिक एवं सांस्कृतिक विकासमा निरन्तर लागि पर्ने जनप्रतिनिधिको आवश्यकता पर्दछ । यि सबै कुरा जननिर्वाचित सबै नेतृत्वमा मुस्किलले भेटिन्छ ।
अन्तमा यी माथि उल्लेखित ८ वटा सुशासनका लागि आवश्यकतत्वहरु एउटा नेतृत्वले आफ्नो ५ वर्षे कार्यकालमा दृढताका साथ लागू गर्न सके स्थानीय सरकारमा सुशासनको स्थिति आम जनताले अनुभुति गर्न सक्लान । अन्यथा जुन गोरु आए पनि कानै चिरेको भन्ने उखान समय सान्दर्भिक हुनसक्छ ।
(लेखकविगत १० वर्षदेखि असलशासनको क्षेत्रमा कार्यरत सामाजिक अभियान्ता हुन)
