जेष्ठ १५, काठमान्डौ । – प्राथमिक शेयर निष्काशन अर्थात आइपिओमा आवेदन दिने सबै लगानीकर्ताले अब शेयर पाउने भएका छन् ।
धितोपत्र बोर्डले शेयर बजारमा संरचनात्मक सुधारका लागि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ जारी गर्दै सबै आवेदकलाई कम्तीमा १० कित्ता वा १० को गुणनमा शेयर बाँडफाड गर्ने व्यवस्था गरेको हो ।
सबै आवेदकलाई १० कित्ता शेयर नपुग्ने स्थिति आएमा भने गोलाप्रथाबाट शेयर बाँडफाँड हुने छ । यो नयाँ व्यवस्थाले साना लगानीकर्तालाई फाइदा पुग्ने छ ।
यस्तै अब व्यक्तिले मात्र आइपिओमा आवेदन दिन पाउनेछन् । यसअघि वित्तीय संस्था तथा बीमा कम्पनीले पनि आइपिओमा आवेदन दिन पाउने व्यवस्था थियो । यस्तै अहिले १ सय रुपैयाँकै आइपिओ जारी गर्नुपर्ने बाध्यात्मक व्यवस्था पनि हटाइएको छ ।
रियल सेक्टरलाई पनि पुँजी बजारमा भित्राउने लक्ष्यका साथ बोर्डले नयाँ निर्देशिकामार्फत प्रिमियम रकम थपेर आइपिओ निष्काशन गर्ने बाटो पनि खोलेको छ । नयाँ व्यवस्थाले रियल सेक्टरलाई पनि पब्लिक कम्पनीका रुपमा स्थापित हुन सहयोग पुग्ने बोर्डले जनाएको छ ।
यस्तै आइपिओमा आवेदन बन्द भएको २० दिनमा शेयरको बाँडफाँड गरिसक्नु पर्ने र २ महिनाभित्र शेयर बजारमा सूचिकृत गरिसक्नु पर्ने व्यवस्था पनि गरिएको छ । यसअघि आइपिओ सूचिकृत हुन ६ महिनासम्म समय लाग्ने गरेको थियो ।