रामेछाप । बैशाख १२ गते,
रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नम्बर ३ कुबँुकास्थली खुला दिशामुक्त वडा घोषणा भएको छ । वडा स्तरिय खानेपानि सरसफाई तथा स्वच्छता समन्वय समिति कुबुँकास्थलीको आयोजनामा सोमबार एक कार्यक्रम विच सो वडालाई खुला दिशामुक्त घोषणा गरिएको हो ।
उक्त वडाको ६ सय ९२ घर धुरीमा शौचालय निर्माण भएसँगै सो वडा खुला दिशा मुक्त भएको आयोजकले जनाएको छ । जिल्ला स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति रामेछापको समन्वयमा जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय , सबल परयोजना , युनिसेफ नेपाल र सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारको सहयोगमा सो वडालाई खुला दिशामुक्त घोषणा गरिएको हो ।
कार्यक्रम उमाकुण्ड गाउँपालिका वडा नम्बर ३ का सचिव भुन बहादुर कुँवरको अध्यक्षता तथा जिल्ला समन्वय समिति रामेछापका विकास अधिकृत गोविन्द कट्टेलको प्रमुख आतिथ्यता एवं उमाकुण्ड गाउपालिका कार्यकारी अधिकृत गंगा काफ्लेको विशेष आतिथ्यतामा रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कट्टेलले नेपाल सरकारले सन २०१७ भित्र पुरा गर्नु पर्ने लक्ष्य हासिल गर्न उक्त कार्यक्रम कोसेढुङ्गा सावित भएको बताउनु भयो । उहाँले सो वडामा सार्वजनिक सौचालयको पनि आवश्यकता देखिएकाले गाँउपालिका कार्यकारी अधिकृतको ध्यानकर्षण समेत गराउनु भयो । कार्यक्रममा कार्यकारी अधिकृत गंगा काफ्लेले आफु नेपाल सरकारको लक्षित योजनाको दायराभित्र रहेर गाँउपालिकाको विकासमा सक्रिय रहने बताउनु भयो ।
वडा नम्बर ३ खुल्ला दिसामुक्त भए संगै अरु वडाहरुलाई पनि क्रमिक रुपमा घोषणा गर्दै नमुना गाँउपालिकाको रुपमा स्थापित गर्न अग्रसर रहने बताउनु भयो । उक्त कार्यक्रममा वास अधिकृत सन्तोष बस्नेत, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका कृष्ण कार्की, सवल परियोजना वरिष्ठ जिल्ला संयोजक दिल बहादुर नेपाली, सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारका कार्यक्रम संयोजक रामकृष्ण क्षेत्री, वित्तीय अधिकृत नविन जयसवाल, पहाडी समाज कल्याण केन्द्रका वित्तिय अधिकृत खेम थापा, पत्रकार महाँसघका युनिक विफा घिसिङ लगाएत स्थानिय विद्यालयका प्रद्यानध्यापकहरुले खुल्ला दिसामुक्त भए पश्चात हुने फाइदाको विषयमा आ—आफ्नो धारणा राखेका थिए ।






