मन्थलीमा पहाडी समाज कल्याण केन्द्र दोरम्बाको छैठौ साधारणसभा

  • प्रकाशित मिति: शनिबार, बैशाख २ २०७४
  • तामाकोसी खबर

रामेछाप । वैशाख २ गते,
पहाडी समाज कल्याण केन्द्र दोरम्बा रामेछापको छैठाँै साधारण सभा रामेछापको सदरमुकाम मन्थलीमा शनिबारबाट सुरु भएको छ । शनिबार र आईतबार २ दिन चल्ने साधारण सभाको पहाडी समाज कल्याण केन्द्रका अध्यक्ष रत्न प्रसाद कडँेलको अध्यक्षता र गैरसरकारी संस्था महासंघ रामेछापका उपाध्यक्ष भुवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं गैरसरकारी संस्थाका उपाध्यक्ष श्रेष्ठले रामेछापमा रहेका गैरसरकारी संस्थाहरुले सरकारले भन्दापनि पारदर्शी काम गरेको दावी गरे । उनले सरकारको मतहतमा भएका कामभन्दा गैरसरकारी संस्थाहरुले गरेका काम प्रभावकारी र गुणस्थरीय रहेको बताए ।
कार्यक्रममा सवल परियोजना रामेछापका वरिष्ठ जिल्ला संयोजक डीलबहादुर नेपालीले सवल परियोजना मार्फत जिल्लामा संचालित कार्यक्रमहरुका बारेमा जानकारी दिएका थिए । उनले सवल मार्फत जिल्लाका विभिन्न ठाउँमा भएका कार्यक्रमहरु प्रभावकारी रहेको पनि बताए । उनले मिडिया र सामाजिक संस्थाहरुको उद्देश्य एउटै भएकाले मिडिया र सामाजिक संस्थाहरुको सम्बन्ध प्रगाढ हुनुपर्ने बताए ।
कार्यक्रममा पत्रकार महासंघ जिल्ला शाखा रामेछापका सचिव नवराज श्रेष्ठले गैरसरकारी संस्था र मिडियाको बिचको सम्बन्ध अझराम्रो हुनुपर्नेमा जोड दिए । उनले संस्थाहरुले गाउँगाउँमा कार्यक्रमहरु लैजादा स्थानीय स्तरको आवश्यकता पहिचान गरेर लगे प्रभावकारी हुने बताए । उनले गैरसरकारी संस्था मार्फत हुने चेतना मूलक कार्यक्रमको ढाचाँ परिवर्तन गर्न आवश्यक रहेको सुझाव दिए ।
कार्यक्रममा सवलका कार्यक्रम संयोजक थिरबहादुर थापाले जिल्लामा दर्ता भएका धेरै संस्थाहरु रहेपनि क्रियाशिलतका आधारमा औलामा गन्न सकिने रहेको बताए । उनले औँलामा गन्न मिल्ने मध्यको पनि पहाडी समाज कल्याण केन्द्र दोरम्बा राम्रो रहेको भन्दै प्रसंशा गरे । उद्घाटन सत्रमा संस्थाका सचिव चन्द्र बहादुर खातीले सांगठनिक तथा प्रगति प्रतिवेदन र कोषाध्यक्ष लिला घिसिङ तामाङले आर्थिक एवं प्रशासनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थामा २०७३ श्रावण १ गते देखि चैत ३१ गते सम्म २० करोड ९ लाख ८१ हजार १ सय ३२ विभिन्न दाताहरुवाट रकम आएकोमा १ करोड १३ लाख ३ हजार ६ सय १४ खर्च भएको कोषाध्यक्ष तामाङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ । आइतबार सकिने साधारणसभा तथा अविधेशनले नयाँ नेतृत्व पनि चयन गर्ने बताईएको छ ।