डिपिएल : रुपन्देही र सिवाइसी अत्तरियाको विजयी सुरुवात

  • प्रकाशित मिति: सोमबार, चैत्र २८ २०७३
  • तामाकोसी खबर

काठमाडौं, चैत २८ – धनगढी प्रिमियर लिग क्रिकेट डिपिएलमा रुपन्देही च्यालेन्र्जसले कञ्चनपुर आइकोनिकलाई १४ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धारीत २० ओभरमा ८ विकेट जाँदा १ सय ४५ रन बनाएको थियो । १ सय ४६ रनको लक्ष्य पछ्याएको कञ्चनपुरले निर्धारित ओभरमा ९ विकेट जाँदा १ सय ३१ रन मात्र बनाउन सक्यो ।



कञ्चनपुरका सागर पुनले ३८ बलमा ३९ रन, सुनिल धमलाले ३५ बलमा २८ रन, कुशल भुर्तेलले १३ बलमा २७ रन बनाए । रुपन्देहीका साहब आलम र कृष्ण कार्कीले तीन तीन, शक्ति गौचनले दुई साथै दिपेश श्रेष्ठले एक विकेट लिए ।

यसअघि ब्याटिङ गरेको रुपन्देहीका हरिशंकर शाहले २४ बलमा ३३ रन, शंकर रानाले १८ बलमा १९ रन, प्रकाश केसीले २३ बलमा २६ रन, शक्ति गौचनले २० बलमा १६ रन, बिक्रम शोबले ९ बलमा १५ रन बनाएका थिए । कञ्चनपुरका कुशल भुर्तेलले चार, अभिनाश कर्णले दुई साथै सुनिल धमलाले एक विकेट लिएका हुन् ।

सोमबार नै भएको पहिलो खेलमा सिवाइसीले काठमाडौं गोल्डेन्सलाई ४० रनले हराएको थियो । एक सय ४७ रनको लक्ष्य पछ्याएको काठमाडौंले १८ दशमलव चार ओभरमा सबै विकेट गुमाएर एक सय ६ रन मात्रै बनाएको थियो ।