चैत १७, काठमाडौं ।– इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले हङकङलाई ७ विकेटले पराजित गरेको छ । २ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले ४४ अोेभर २ बलमा तीन विकेट जाँदा २ सय २० रन बनाएको हो ।
नेपालका ज्ञानेन्द्र मल्ल, शरद भेषावकर र दिपेन्द्र सिंह ऐरीले अर्धसतक बनाए । दिपेन्द्र सिंह ऐरीले ८३ बलमा अविजित ६० रन बनाए । उनले ५ चाैका र १ छक्का हाने । उनले ४५ अाैँ अोभरको दोस्रो बलमा छक्का हानेर शानदार जित दिलाएका हुन् ।
शरद भेषावकरले ५१ बलमा अविजित ५५ रन बनाए । उनले ३ छक्का ३ चौका हानेका थिए । नेपालका कप्तान ज्ञानेन्द्र मल्लले ११ चौकाको मद्धतमा ८२ बलमा ७० रन बनाए । आशिफ शेखले २३ बलमा ८ रन बनाए । यस्तै दिलिप नाथले २९ बलमा १२ रन बनाए ।
यसअघि बंगलादेशको कक्स बजारमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा सबै विकेट जाँदा २ सय १४ रन बनाएको थियो । नेपालका अविनाश कर्णले तीन तथा भुवन कार्की, सुशन भारी र ज्ञानेन्द्र मल्लले दुई दुई विकेट लिए । यस्तै सन्दिप लामिछानेले एक विकेट लिए ।
हङकङका लागि अंशुमन राथले ६० बलमा ५१, क्यामरुन म्याकुलसेनले ७३ बलमा ४३ तथा वाक्कस खानले ६५ बलमा ३० रन बनाएका थिए । एक दिवसीय खेलमा नेपाल र हङकङको यो दशौं भेट हो । यसअघिका ९ खेलमा नेपालले ५ खेल जितेको थियो भने चार खेलमा पराजित भएको थियो । हङकङसँग पछिल्लो पटक सन् २०१४ मा एसिसी प्रिमियर लिगमा भेट हुँदा नेपाल ७ विकेटले विजयी भएको थियो ।
एसियाली क्रिकेट परिषद एसिसीको आयोजनामा भइरहेको प्रतियोगितामा चार एसोसिएट राष्ट्र नेपालसँगै अफगानिस्तान, मलेसिया र हङकङ तथा टेष्ट मान्यताप्राप्त राष्ट्र पाकिस्तान, भारत, बंगलादेश र श्रीलंकाका २३ वर्षमुनिका खेलाडीको सहभागिता भएको हो ।
