मन्थलीको बेतिनी हुलाक डाँडा सुनसान र खण्डहर बन्दै

  • प्रकाशित मिति: आइतबार, चैत्र १३ २०७३
  • तामाकोसी खबर

रामेछाप । चैत १४ गते,
कुनै समय रामेछाप जिल्लाकै सबैभन्दा चल्तिको ठाउँको रुपमा मानिने बेतिनी हुलाक डाँडा अहिले सुनसान र खण्डहर वस्ती बनेको छ । अहिले हुलाक डाँडामा मानिसहरुको चहलपहल शुन्य भएको छ भने  हुलाक डाँडाका घरहरु पनि भूकम्पको कारण भत्किएर खण्डहर भएका छन् । रामेछाप जिल्लाको सदरमुकाम रामेछाप बजारमा रहँदा २०४५ सालसम्म रामेछापकोको लागि दैनिक उपभोग्य सामान ढुवानी गर्ने भरिया तथा रामेछापबाट मधेश छिर्ने प्रमुख नाका थियो हुलाक डाँडा । साविकको भलुवाजोर र रामेछापको सिमानामा पर्ने वेतिनी हुलाका डाँडा अहिले मन्थली नगरपालीकामा पर्दछ । २०४५ सालमा रामेछापको सदरमुकाम रामेछाप बजारबाट मन्थली सरेपछि रामेछाप बजारमा मानिसहरुको चाप कम भयो ।

त्योसंगै हुलाक डाँडा भएर हिँड्ने मानिसहरुको चाप पनि घट्यो । अझ मोटरबाटो चलेपछि हुलाकडाँडा पुरै ओझेलमा पर्यो ।रामेछाप बजारमा सदरमुकाम हुँदासम्म दैनिक सयौँ मानिसहरु हुलाक डाँडा भएर ओहोर दोहोर गर्ने गर्दथे । त्यहाँ रहेका होटल तथा पसलहरु सँधै खचाखच हुन्थे । होटलमा बास नपाइने भए पछि भरिया तथा पैदल यात्रीहरु हुलाक डाँडाको पीपलको चौतारमा सुतरे रात काट्ने गरेको स्थानीय तारानीधि सुवेदी बताउँछन् ।



अहिले हुलाक डाँडामा न पिपलको बोट छ, न होटल र पसल नै छन् । कयौँ यात्रीहरुलाई छाहारी  दिने पिपलको बोट सुकेर मरेको छ भने हुलाक डाँडाका सबै घरहरु भूकम्पको कारण भत्किएका छन् । अहिले स्थानीयहरु भत्किाएका घरहरुलाई पन्छाएर नयाँ निमाणको तयारीमा लागेका छन् ।  रामेछापको वेतीनी हुलाक डाँडा फेरी वहुरिने प्रयत्न गर्दै छ ।