रामेछापमा स्थानीय निकाय निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुल्यो

  • प्रकाशित मिति: शनिबार, चैत्र १२ २०७३
  • तामाकोसी खबर

रामेछाप । चैत १२ गते,
बैशाख ३१ गते हुन लागेको स्थानीय निकायको निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालय रामेछापले म्यादी प्रहरी भर्ना खुलाएको छ । सरकारले देशभरका लागि ७५ हजार म्यादी प्रहरी निर्वाचनका लागि आवश्यकता भएको र सोहि अनुसार सबै जिल्लालाई परिपत्र गरेपछि जिल्ला प्रहरी कार्यालयले म्यादी प्रहरीमा भर्ना खुलाएको एक सूचना प्रकाशन गरि जानकारी दिएको हो । जिल्ला प्रहरी कार्यालयले प्रकाशन गरेको सूचना अनुसार नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीमा कार्यरत रही पेन्सन वा उपदान प्राप्त पूर्व सुरक्षा कर्मी ,पूर्व वन रक्षकहरुलाई बिशेष ग्राहेता दिईने छ । त्यस्तै नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलमा भर्नाको लागि आवेदन गरी शारीरिक परीक्षणमा समेत समावेश भएका प्रवेश पत्रको प्रतिलिपी पेश गर्ने व्यक्तिहरु ,विदेशी मित्र राष्ट्रका सुरक्षा निकायहरुमा काम गरी सेवा निवृत्त नेपाली पूर्व सुरक्षाकर्मीहरु, विगतका संविधान सभा निर्वाचनमा म्यादी प्रहरीको रुपमा भर्ना भई राम्रो काम गरेका व्यक्तिहरुलाई थप मान्यता दिने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरिक्षक प्रेम जाोसीले जानकारी दिए । म्यादी प्रहरीका लागि उमेरको हद अन्तिम मितिसम्म १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेको ,नेपाली नागरिक हुनु पर्ने, कुनै नैतिक पतन देखिनेफौजदारी अभियोगमा कसुरदार नठहरिएको,कुनै राजनैतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिकरुपले तन्दुरुस्त रहेको साधरण लेखपढ गर्न जान्ने भए हुने प्रहरीले प्रकाशन गरेको सूचनामा जनाईएको छ । स्थानीय निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्यावधि ५५ दिनको हुने र उनिहरुले नेपाल प्रहरीको प्रहरी जवानले पाए सरहको तलब, भत्ता र तोकिए बमोजिम अन्य सुविधा उपलब्ध हुने पनि प्रहरी प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ । म्यादी प्रहरीका लागि ईच्छुक ब्यक्तिले मिति २०७३ चैत ११ गते शुक्रबार देखि चैत १७ गते बिहिबार कार्यालय समयभित्र जिल्ला प्रहरी कार्यालय मनथली रामेछापमा दरखास्त दिन सक्ने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरिक्षक प्रेम जोसीले जानकारी दिए । उन रामेछापवाट कति सङख्यामा भर्ना लिने भन्ने बारेमा भने आफुहरुलाई केहि परिपत्र नआएको बताए ।