नयाँ संरचना लागु भएपछि रामेछापमा देखिएको समस्याका बारेमा छलफल

  • प्रकाशित मिति: बिहिबार, चैत्र ३ २०७३
  • तामाकोसी खबर

रामेछाप । चैत ३ गते,
रामेछापमा स्थानीय तहको नयाँ संरचना लागु भएपछि देखिएका समस्याका बारेमा छलफल भएको छ । अनौपचारिक सेवा केन्द्र इन्सेकको समन्वयमा मानव अधिकार संरक्षण सञ्जाल रामेछापले सदरमुकाम मन्थलीमा आयोजना गरेको छलफल कार्यक्रममा नयाँ संरचना लागुभएपछि देखिएका समस्या निराकरणका लागि सरकोकारवाला निकाय सबै एक भएर लाग्ने सहमति पनि भएको छ ।
मानव अधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक एवं नेपाल बार इकाई रामेछापका अध्यक्ष पाण्डव प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लामा रहेका गैर–सरकारी संस्था, पत्रकार महासंघ, अपाङ्गता सचेतना केन्द्र, नेपाल आदिवासि जनजाति महासंघ, विधिन्न पेशागत संस्था र मानवअधिकारको क्षेत्रमा क्रियाशिल संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा मुलुक नयाँ संरचना अनुसार गएपछि नागरिकमा आएका अन्योलता र समस्यालाई फुकाउनका लागि राजनैतिक दल, जिल्ला समन्वय समिति ,गाविस सचिव हकहित संरक्षण मञ्च, जिल्ला शिक्षा कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशुसेवा कार्यालय, नगरपालिका लगाएतका सरोकारवाला निकायलाई एकठाउँमा राखेर एक हप्ताभित्र छलफल कार्यक्रम गर्ने निर्णय पनि भएको छ । नेपाल बार इकाई रामेछापका सचिव सुदर्शन रायमाझी, पुर्व अध्यक्ष बाबुकाजि दाहाल, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापका अध्यक्ष रमेश ढुंगेल, गैर–सरकारी संस्था महासंघ रामेछापका उपाध्यक्ष भुवन कुमार श्रेष्ठ, नेपाल मगर संघ रामेछापका अध्यक्ष खड्क बहादुर मगर लगाएतका वक्ताहरुले स्थानीयतह नयाँ संरचनामा गएपछि नागरिकहरुमा आएको अन्यौलता र उनीहरुले पाउने सेवा सुविधामा देखिएका समस्याका बारेमा बोलेका थिए ।
सहभागिहरुले मूलुक नयाँ संरचनामा गएपछि सेवा प्रदायक निकायनै अन्योलतामा रहेको बताए । यसका लागि सरोकारवालाले गम्भिरताका साथ सोच्नुपर्ने उनीहरुले बताए । कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक रामेछापका प्रतिनिधि नवराज पथिकले नागरिकमा देखिएका समस्या समाधानका लागि जिल्लाका सरोकारवाला निकायसंग एकहप्ताभित्र छलफल गर्ने बताए । कार्यक्रममा हुराडेक दोलखाका अध्यक्ष होम पाठक, युएसएआइडिका कृष्ण पाठक, एफएच आईका विकास पन्थी, ईक्वयल यक्सेसका निर्मल रिजालको पनि सहभागिता रहेको थियो । उनीहरुले स्थानीय स्तरका समस्या समाधानको लागि यस्ता सञ्जालले महत्पूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए ।