ऊर्जामन्त्री शर्मा सम्मानित

  • प्रकाशित मिति: बुधबार, चैत्र २ २०७३
  • तामाकोसी खबर

काठमाडौं, चैत २ – देशमा चर्को रुपमा रहेको विद्युतभार कटौतीलाई अन्त्य गरेर २४ सै घन्टा विद्युत उपलब्ध गराउन नेतृत्वदायी भूमिका खेलेको भन्दै नेपाल औषधिगत बिक्री प्रबन्धक सङ्गठनले ऊर्जामन्त्री जनार्दन शर्मालाई सम्मान गरेको छ ।

ऊर्जा मन्त्रालयमा मंगलबार आयोजित एक कार्यक्रममा उहाँलाई आगामी दिनमासमेत देश र नागरिकलाई केन्द्रबिन्दुमा राखेर काम गर्न र मुलुकको ऊर्जा क्षेत्रमा विशेष योगदान दिन आग्रह गर्दै तामपत्रबाट सम्मान गरेको हो ।



सङ्गठनका काठमाडौं अध्यक्ष दीपेन्द्र लम्सालले मुलुकमा केही पनि हुँदैन भन्ने चरम निराशाका बीच गरे केही त हुँदोरहेछ भन्ने सन्देश दिन सफल भएको र त्यसले समाजमा सकारात्मक प्रभाव पारेकाले सङ्गठनले ऊर्जा मन्त्रीलाई सम्मान गरेको बताउनुभयो । त्यस अवसरमा ऊर्जामन्त्री शर्माले विद्युतभार कटौतीको विषय सामान्य विषय भएको बताउँदै इमान्दार प्रयास गर्ने हो भने मुलुकलाई केही दिन सकिन्छ र केही हुन्छ भन्ने सन्देश त्यसले दिएको छ भन्नुभयो ।

जलविद्युत् क्षेत्रको विकासका लागि सबैको सार्थक र सकारात्मक प्रयासको जरुरी छ, उहाँले भन्नुभयो “सरकार केही ठूला र मझौला आयोजना अगाडि बढाउने गृहकार्यमा जुटेको र त्यसको सकारात्मक परिणाम केही दिनभित्रै देखिने छ ।”

मन्त्री शर्माले मुलुक र जनताको साथ र सहयोग पाएको खण्डमा केही वर्षभित्रै विद्युत् उत्पादनमा चामत्कारिक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै सङ्गठनले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पनि सम्मान गरेको छ । विद्युतभार कटौती कम गर्न उल्लेख्य योगदान र सार्थक पहल गरेको भन्दै उहाँलाई प्राधिकरणकै कार्यकक्षमा सम्मान गरिएको सङ्गठनले जनाएको छ । रासस