विषयगत प्रश्नोत्तर २०७३ फाल्गुन १८

  • प्रकाशित मिति: बिहिबार, फाल्गुन १९ २०७३
  • तामाकोसी खबर

नेपालको संविधानमा गाउँ कार्यपालिकाको गठन, योग्यता र पद रिक्त हुने अवस्था सम्बन्धमा के–कस्तो व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।
नेपालको संविधान धारा २१५ मा गाउँ कार्यपालिका गठन, योग्यता र पद रिक्त हुने अबस्थासम्बन्धी ब्यवस्था छ, जसलाई देहाय बमोजिम उल्लेख गर्न सकिन्छ ः–
गाउँ कार्यपालिकाको गठनः
प्रत्येक गाउँपालिकामा एक जना गाउँ कार्यपालिका अध्यक्ष रहने, उनको अध्यक्षतामा गाउँ कार्यपालिका गठन हुने, गाउँ कार्यपालिकामा एक जना उपाध्यक्ष, प्रत्येक वडाबाट निर्वाचित वडा अध्यक्ष र गाउँसभाका सदस्यहरुले आफुमध्येबाट निर्वाचित गरेका चार जना महिला सदस्य र दलित वा अल्पसंख्यक समुदायबाट गाउँसभाले निर्वाचित गरेका दुई जना सदस्य गाउँ कार्यपालिकाको सदस्य हुने व्यवस्था छ । गाउँ कार्यपालिकाको अध्यक्ष र उपाध्यक्ष्यको निर्वाचन सम्बन्धित गाउँपालिका क्षेत्रभित्रका मतदाताले “एक व्यक्ति एक मत” का आधारमा गोप्य मतदानबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम गर्ने व्यवस्था छ ।
योग्यता
गाउँ कार्यपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यको पदमा निर्वाचित हुन देहायको योग्यता आवश्यक पर्ने व्यवस्था छ ः
क) नेपाली नागरिक
ख) एक्काइस वर्ष उमेर पुरा भएको
ग) गाउँपालिकाको मतदाता नामावलीमा नाम समाबेश भएको र
घ) कुनै कानुनले अयोग्य नभएको
पद रिक्त हुने अबस्था
देहायको कुनै अबस्थमा गाउँ कार्यपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यको पद रिक्त हुने अबस्था छ ः
क) अध्यक्षले उपाध्यक्षसंग र उपाध्यक्षले अध्यक्षसंग लिखित राजिनामा दिएमा,
ख) निजको पदावधि समाप्त भएमा,
ग) निजको मृत्यु भएमा,
– अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुनेछ ।
– अध्यक्षको पदमा दुई कार्यकाल निर्वाचित भएको व्यक्ति गाउँपालिकाको निर्वाचनमा उमेदवार हुन नपाउने,
– अध्यक्ष वा उपाध्यक्षको एक वर्षभन्दा वढी पदावधि वाँकी रहेको अबस्थामा पद रिक्त हुन गएमा बाँकी अबधिको लागि रिक्त पदको पुर्ति उपनिर्वाचनद्धारा हुने व्यवस्था छ ।
नागरिक बडापत्र भनेको के हो ? यो किन आवश्यक छ ? लेख्नुहोस् ।
सार्वजनिक बस्तु तथा सेवा उपलब्ध गराउन लाग्ने समय, लागत, बस्तु तथा सेवाको नाम, गुणस्तर, आवश्यक कागजात, सेवाग्राहीका गुनासा सुनुवाइ, क्षतिपुर्ति लगाएतका विषय उल्लेख गरी सेवाग्राहीको जानकारीको लागि सेवा प्रदायक निकायमा सबैले देख्ने गरी टाँस गरिएको सुचनालाई नागरिक बडापत्र भनिन्छ । यो ऐन, नियम, कानुनमा भएका प्रावधान समेटी सार्वजनिकरुपमा प्रस्तुत गरिएको घोषणा हो । यसमा उल्लेख गरिए बमोजिमका बस्तु तथा सेवा उपलब्ध गराउनु सेवा प्रदायक निकायको कर्तव्य हो । यसले सार्वजनिक सेवा प्रवाहमा थप प्रभावकारीता ल्याउन मद्दत गर्छ ।
नागरिक बडापत्रको आवश्यकता
– कायविधि एवं कार्यप्रणालीमा पारदर्शिता तथा स्वच्छता कायम गर्न,
– ऐन, नियमका प्राबधानको पुुर्ण परिपालना गर्न ÷गराउन,
– सेवाग्राहीको हक, अधिकार सुनिश्चित गर्न,
– सेवा प्रदायकलाई सेवाग्राहीप्रति जिम्मेवार र जवाफदेही बनाउन,
– सुशासन कायम गर्न / गराउन
नेपाल राष्ट्र बैङ्कको सञ्चालक समितिको गठन के कसरी हुने व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।
नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ अनृुसार नेपाल राष्ट्र बैङ्कको सञ्चालक समिति देहायबमोजिम गठन हुने व्यवस्था छ ः
क) नेपाल राष्ट्र बैङ्कको गभर्नर – अध्यक्ष
ख) अर्थ मन्त्रालयको सचिव – सदस्य
ग) नेपाल राष्ट्र बैङ्कका दुईजना डेपुटी गभर्नर – सदस्य
घ) आर्थिक मौद्रिक, बैङ्किङ, वित्तीय तथा वाणिज्य कानुनका क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरु मध्येवाट नेपाल सरकारले नियुक्त गरेका तीनजना सञ्चालक – सदस्य
– नेपाल राष्ट्र बैङ्कको गभर्नर, डेपुटी गभर्नर र सञ्चालकको कार्यकाल पाँच वर्षको हुनेछ ।
– नेपाल सरकार मन्त्रिपरिषदले नेपाल राष्ट्र बैङ्कको सञ्चालक नियुक्ति गर्दा आर्थिक, मौद्रिक, बैङ्किङ वित्तीय, बाणिज्य, व्यवस्थापन तथा बाणिज्य कानुन क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुमध्ये अलग अलग क्षेत्रको प्रतिनिधित्व हुनेगरी गर्नुपर्ने व्यवस्था छ ।
ॐ गोरखापत्र ज्ञान सागर मिति २०७३।११।१८