रामेछापको खाँडादेवी गाविसको वडा नम्बर ३ र ४ लाई खुल्ला दिशामुक्त घोषणा

  • प्रकाशित मिति: आइतबार, फाल्गुन ८ २०७३
  • तामाकोसी खबर

रामेछाप । फागुन ७ ,
रामेछाप जिल्लाको खाँडादेवी गाविसको वडा नम्बर ३ र ४ लाई खुल्ला दिशामुक्त घोषणा गरिएको छ । वडा स्तरिय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति खाँडादेवीको आयोजना तथा सामुदायिक विकास समाजको सहकार्यमा खाँडादेवि गाविसको वडा नम्बर ३ र ४ लाई शनिवार खुल्ला दिशामुक्त घोषणा गरिएको हो । समन्वय समितिका अध्यक्ष खिललाल घिसिङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा  जिल्ला स्वास्थ्य कार्यालय प्रमुख प्रकाशप्रसाद शाह , जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रमुख हेमन्त बुढाथोकी, सामुदायिक विकास समाजका कार्यकारी निर्देशक मिलन कुमार घिसिङ , नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सचिव लेख बहादुर कार्की, नेकपा एमालेका जिल्ला कमिटि सचिव आनन्द श्रेष्ठ, माओवादी केन्द्रका धनबहादुर तामाङ, नेकपा मालेका प्रेम बहादुर लामा, सङ्घिय समाजवादी फोरमका जिल्ला अध्यक्ष सोनाम लामा, पत्रकार महासंघ रामेछापका उपाध्यक्ष युनिक विफा घिसिङ, खानेपानी तथा सरसफाई डिभिजनका बखत बहादुर थापा , गैर सरकारी संस्था महासंघका चन्द्रबहादुर खाती लगाएतको सहभागिता रहेको थियो ।
साथै सामुदायिक विकास समाज (सिडिएस्) र साझेदारी संस्थाहरुको समन्वयमा रामेछाप जिल्लाको राकाथुम,मझुवा र खाँडादेवी गाविसमा निर्माण भएका विकासका पूर्वाधारहरुको शनिवार सर्वदलिय अनुगमन भएको छ । अनुगमनको क्रममा स्थानिय स्तरमा भए गरेका समस्या र गुनासाहरुको बारेमा पनि प्रत्यक्ष छलफल भएको थियो ।