विषयगत प्रश्नोत्तर मिति २०७३।११।०२

  • प्रकाशित मिति: सोमबार, फाल्गुन २ २०७३
  • तामाकोसी खबर

१) नेपालको संविधानमा राजस्व बाँडफाँडसम्बन्धी सङ्घीय ऐन बनाउँदा के कस्ता विषयहरुमा ध्यान दिनुपर्ने ब्यवस्था गरेको छ ? लेख्नुहोस्।
नेपालको संविधानको धारा ६० मा राजस्व स्रोतको बाँडफाँड सम्बन्धी ब्यवस्था गरी राजस्व बाँडफाँड सम्बन्धी संङ्घीय ऐन बनाउँदा देहायका विषयहरुमा ध्यान दिनुपर्ने ब्यवस्था गरेको छ ः–
– राष्ट्रिय नीति,
– राष्ट्रिय आबश्यकता,
– प्रदेश र स्थानीय तहको स्वायत्तता
– प्रदेश र स्थानीय तहले जनतालाई पु¥याउनुपर्ने सेवा र उनीहरुलाई प्रदान गरिएको आर्थिक अधिकार,
– राजस्व उठाउन सक्ने क्षमता,
– राजस्वको सम्भाव्यता र उपयोग,
– विकास निर्माणमा गर्नुपर्ने सहयोग,
– क्षेत्रिय असन्तुलन,
– गरिवी र असमानताको न्यूनिकरण,
– बञ्चितीकरणको अन्त्य,
– आकस्मिक कार्य र अस्थायी आबश्यकता पुरा गर्न सहयोग गर्नु पर्ने विषयहरु



२) निजामती कर्मचारीले पालना गर्नु पर्ने पेसागत आचरणहरु के के हुन् ? उल्लेख गर्नुहोस् ।
निजामती सेवाका कर्मचारीको आचरणसम्बन्धी नियमावली, २०६५ मा ब्यवस्था भए अनुसार निजामती कर्मचारीले पालना गर्नु पर्ने पेसागत आचरणहरु निम्न छन् ः–
– आफ्नो कामसँग सम्बन्धित सबै कानुनको जानकारी राख्नुपर्ने,
– प्रचलित कानुन, अदालतको निर्णय वा आदेश, संवैधानिक निकाय र नेपाल सरकारको निर्णयको सदैव सम्मान र पालना गर्नुपर्ने,
– आफ्नो पेसाको सम्मान गर्ने, पेसालाई प्रतिष्ठापुर्ण र मर्यादित बनाउनका लागि सदैव प्रयत्नशिल रहनुपर्ने,
– सेवाग्राहि र सर्वसाधारण जनतामा निजामति सेवाप्रति नकारात्मक भावनाको विकास हुने गरी कुनै कुरा ब्यक्त गर्न वा सुचना प्रवाह गर्न नहुने,
– आफ्नो क्षमता विकास गर्न प्रयत्न गर्ने,
– पेसागत अनुमतिपत्रका शर्तहरु पालना गर्नुपर्ने,
– आफ्नो जिम्मेवारी इमान्दारिताको साथ क्षमताले भ्याएसम्म गुणस्तरीय रुपमा सम्पन्न गर्नुपर्ने,
– आफुले सम्पादन गरेको कामको जिम्मेवारी लिनुपर्ने,
– राय सल्लाह दिँदा निष्पक्षता एंव इमान्दारीका साथ सोधिएका सबै विषयमा कानुन सम्मत हुने गरी दिनुपर्ने,
– पेसा वा कार्यका सम्बन्धमा कायम रहेका नैतिक मापदण्ड पुरा गर्नुपर्ने,
– सरकारी काममा आफुभन्दा माथिको कर्मचारीले दिएको निर्देशनलाई शीघ्रताका साथ पालना गर्नुपर्ने,
– आफ्नो काम कारबाही आर्थिकरुपमा मितब्ययी एवं किफायतपुर्ण गर्नुपर्ने,
– आफु वा आफ्नो परिवारका सदस्यबाट समेत सरकारीकोष वा सम्पत्तिको हिनामिना, बेवास्ता र दुरुपयोग गर्न गराउन नहुने,
– सरकारी सम्पत्ति अनधिकृत रुपमा कुनै राजनितिक दल वा राजनितिक दलका भातृ संगठन वा त्यस्ता कार्यक्रमका लागि प्रयोग गर्न दिन नहुने,

३) घरेलु हिंसा भनेको के हो ? कसैले घरेलु हिंसा गरेमा के कस्तो सजाय हुने ब्यवस्था छ ? उल्लेख गर्नहोस् ।
एकै परिवारमा बसेका कुनै ब्यक्तिले अर्काे ब्यक्तिलाई शारीरिक, मानसिक, आर्थिक यातना दिने, यौनजन्य कार्य गर्ने, गाली गर्ने एवं भावनात्मक चोट पु¥याउने जस्ता कार्यलाई घरेलु हिंसा भनिन्छ । नेपालमा यस्ता कार्य नियन्त्रण गर्न तथा घरेलु हिंसाबाट पिडित ब्यक्तिलाई संरक्षण गरी न्याय प्रदान गर्न घरेल हिंसा (कसुर र सजाय) ऐन, २०६६ तर्जुमा गरी लागु गरिएको छ । उक्त ऐन अनुसार कसैले हिंसा गरेमा त्यस्तो व्यक्तिलाई तीन हजार रुपैयाँदेखि २५ हजार रुपैया सम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । त्यसैगरी घरेलु हिंसाको उद्योग गर्ने वा दुरुत्साहन गर्ने वा मतियार हुनेलाई मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुने, घरेलु हिंसा कसुरमा सजाय पाइसकेको व्यक्तिले पुनः सोही कसुर गरेमा पटकैपिच्छे दोब्बर सजाय हुने, सार्वजनिक जवाफदेहीको पदमा बहाल रहेको कुनै व्यक्तिले उपरोक्त कसुर गरेमा निजलाई थप दश प्रतिशत सजाय हुने, पीडितलाई घरेलु हिंसा नगरी तत्काल संरक्षण गर्न अदालतबाट दिएको आदेश पालना नगरेमा त्यस्तो व्यक्तिलाई दुई हजार रुपियाँदेखि पन्ध्र हजार रुपियासम्म जरिवाना वा चार महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

गोरखापत्र ज्ञान सागरबाट साभारः २०७३ माघ २६ गते बुधबार