नेपाली जनता यतिखेर माटो खाऊँ कि ढुंगा कोपारुँ भन्ने अवस्थामा छन् । भूकम्पले क्षतविक्षत बनाएका वस्तीहरु यो ठन्डी महिनामा काँपीरहेका छन् । खै, कसले टिठाउँछ र तिनीहरुलाई जसको रोजीरोटी खोसिएको छ, हातमुख जोड्न धौधौ छ । देशमा अनेकन वेथितीहरु कायम छन् । गरिबी र बेरोजगारको संख्या दिन दुईगुणा रात चौगुणा वृद्धि हुँदै गएको छ । समयको माग र इतिहासको आवश्यकताका आधारमा देशको राज्य व्यवस्था पुरै बदलिइसकेको बेला हो यो । तर, नेपाली जनताको अवस्था र नेपाली राष्ट्रियता झन्झन् कमजोर हुँदैछ । हामी निकै लामो संक्रमणकालीन अवस्थामा गुज्रिरहेका पनि छौँ । यस्तो अवस्थामा सरकारलाई गालीगलौज गरेर मात्र निकास आउने त होइन नै यद्यपि हाम्रा नेतागणको कार्यशैलीप्रति कोहीपनि सन्तुष्ट छैन । सत्तामा जो पुग्छ के उसले मात्रै देश विकासको ठेक्का लिएको हुन्छ र ? आज देशमा क्रियाशील सबै राजनीतिक दलहरु एकअर्कासित विमुख छन् । सबैले आ–आफ्नो स्वार्थको झोला भिरेका छन् । वास्तवमा सत्यको कसीमा राखेर हेर्दा कुनैपनि पार्टी देशलाई अग्रगामी दिशातर्फ छलाङ मार्ने खेल खेलेका छैनन् उल्टै आफ्नो पार्टी र भातृसंगठन बलियो बनाउने अनि जनतालाई झुक्याएर सत्ताको बागडोर सम्हाल्न पाइन्थ्यो कि भन्ने अभिलाषा नबोकेका सायदै छन् यहाँ । सबै कुरामा मौका एक पटक मात्र आउँछ । जसले पाएको अवसर गुमाउँछ त्यसलाई इतिहासले विदाइ गरिसकेको छ । यो धु्रुवसत्य हो कुनैपनि प्राणी यो धर्तीमा पटक–पटक जन्मँदैन । अरुको प्रगति देखेर मुर्छिने र सकेसम्म आफ्नै वर्चस्व कायम राख्ने निकृष्ट प्रवृत्ति हावी भएकाले देश सधैँ पश्चगमनको सिकार भएको हो । यहाँ यस्तो भइदियो कि एउटा योग्य नेताले काम गर्न पाउँदैन भने भरौटे र भ्रष्ट नेताले जिम्मेवार सम्हाल्छ । सरकार आफैँमा कमजोर छ, चारैतिर टेको छन् र कति बेला ढल्छ निश्चित् छैन । हामीले नेपालमा प्रजातन्त्र उदय भइसकेपछिको धेरै कालखण्डलाई स्मरण गर्ने हो भने थुप्रै व्यवस्था र सरकारको अल्पायुमै दुर्घटना भएको छ । अब यो म्यादी सरकार सायद चाँडै अस्ताउँदै छ । यो अनुग्रह र आशिर्वादले टिकाएको सरकारले जाने बेलामा नेपाली जनतालाई के सन्देश दिएर जान्छ भन्ने आँकलन सहजै गर्न सकिन्छ । हुन त सरकार हदैसम्म असफल भएको छ । असफल भयो वा असफ पारियो भन्ने सत्यतथ्य त सयमक्रमसँगै बाहिरीनेछ । यो सरकार भीरबाट त लडिसकेको अवस्था हो, बीचमा गएर अड्किएको छ, अब यसलाई बलजफती तल भुइँमै झार्ने वा पूरै शक्ति लगाएर फेरि बीच सडकमै उतार्ने भन्ने अन्योल लम्बिँदै जाँदा संक्रमणकाल यथावत् रहेको हो । भीरको बीच भागमा अड्किएको सरकाले आफ्नो बलबुताले केहीपनि गर्न सक्दैन बरु अरुको सहयोगमा कि सकुशलपूर्वक उद्धार हुनसक्क कि त यसको दाहसंस्कार गर्नुपर्नेहुन्छ । यो सरकारले पाँचै वर्ष नेतृत्व लिएपनि सिन्को भाँच्ने लक्षण देखिएको नहुँदा जताततैबाट आलोचना खेप्नुपरेको हो । देशको अवस्था अहिले मट्टीतेल सकिनै लागेको पिलपिले टुकीबत्तीसरह बनेको छ । यसले कसरी उज्यालो छर्नसक्ला ?
अब सरकार र सरकारबाहिर रहेका शक्तिहरुको चर्चा गरौँ । अहिलेको वर्तमान सरकारसँग समस्याको चाङ छ । एउटा समस्याको हल हुन नपाउँदै अर्को समस्या थोपरिन्छ । सबै काम अधुरो छ । सत्तारुढ दल आलोपालोको दौडधुपमा छन् भने सत्ताको परिधीभन्दा बाहिर बसेका केही शक्ति आफ्नो शक्ति प्रदर्शन गर्नमा लिप्त छ । ऊ काठमाण्डौका सडकमा असली राष्ट्रवादको नारा लगाउँछ भने सरकार त्यसलाई खोक्रो राष्ट्रवादको संज्ञा दिन्छ । यता सरकार आफ्नो सत्ता टिकाउनालई मंगलबारे व्रत बस्दैछ भने उता त्यसको आयु घटाउने दाउपेचमा छ । हुन त उसले पनि सरकारको डाडुपन्यू नचलाएको कहाँ होर तैपनि बाँकी रहेको अवशेष चाट्न नपाएकै कारण ऊ गर्जिएको होकि भन्ने भान हुन्छ । होइन भने के अरुलाई सहयोग गर्नुपर्दा उसको खास्टो नै खोसिने त होइन होला । तसर्थ नेपाल राष्ट्र र आम जनताको भलाइ हुने काममा कसैले कसैलाई अवरोध नगरेर आपसी समझदारीमा जानु उचित छ । अब यस्तै खेलमा खुट्टा घुमाइरहने हो भने राजनीतिक दलहरुको अस्तित्व धरापमा पर्छ । सिंगो मुलुक सधैँ अनिर्णयको बन्दी बन्नुपर्ने बाध्यता सिर्जना हुन्छ । अहिलेको मूल राजनीतिक एजेन्डाको विषयमध्ये संविधान संशोधन र तीन वटै निकायको स्थानीय निर्वाचन समयमै गराउने हो । फेरि संविधान संशोधनकै मुद्दामा देशलाई बन्दी बनाइराख्ने हो भने संसारकै उत्कृष्ट संविधानको नाम दिइएको नेपालको अधिकार सम्पन्न संविधान २०७२ को के मूल्य ? संविधान कार्यान्वयनको चुनौती धेरै रहेपनि विस्तारै यसको अभ्यास गर्नसके पक्कै सफल हुन सकिन्छ । होइन भने अप्ठेरो छ यसलाई कसरी छुने भनेर कपडामा पोको पारेर राख्ने हो भने देशमा निकासा निक्लिने संभावना न्यून देखिन्छ । देशको सम्पूर्ण सरकारी निकाय आधा शताब्दीभन्दा बढी लामो समयसम्म जनप्रतिनिधीविहीन अवस्थामा रहँदा विकासका गतिविधिहरु प्राय ठप्प छन् । जनताले विकासको फल पाउने कुरा धर्तीको पल्लो छेउ भएको छ । सबैले आ–आफ्नो स्तरबाट सहयोग गरे के छ र असम्भव ? यहाँ त सबैलाई आफ्नो शाख जोगाउनै ध्यानमग्न हुनुपरेको छ त कसरी उत्तर निस्कन्छ । अहिलेको प्रमुख आवश्यकता भनेकै राजनीतिक निकास हो । जसरी हुन्छ बेलैमा यसको समाधान खोज्नतर्फ दलहरु अर्जुनदृष्टिका साथ अघि बढ्पर्ने टड्कारो छ । समय छँदै घैँटोमा घाम लाग्न सकेन भने जनताको बलिदानीबाट प्राप्त भएको संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता लगायतका उपलब्धीहरु गुम्ने खतरा छ ।
आकाशमा घाम हुँदै चेतना भया ।
अभिषेक परियार