युवा संघमा गुटबन्दी हावी ः दुई गुटका दुई अध्यक्ष चयन

  • प्रकाशित मिति: बिहिबार, पुष २८ २०७३
  • तामाकोशी

अभिषेक परियार
पुस २८ बेसीशहर
नेकपा एमाले पार्टी विगतका घटनाक्रमहरुले गुटवन्दीलाई पछ्याउने पार्टीको रुपमा देखिँदै आएको विषय नौलो कुरा होइन । तर, एमाले निकट युवा संघ लमजुङमा भने फरक स्वादको गुटबन्दीको पर्दाफास भएको छ । गुटकै कारण लामो समयदेखि गठन हुन नसकेको युवा संघ लमजुङले अन्ततः २ जना अध्यक्ष जवर्जस्त प्राप्त गरेको छ । ओली र नेपाल गुटका युवाहरुले आ–आफनै शैलीमा युवा संघको कमिटी निर्माण गरेका हुन् । युवा संघको अध्यक्षमा माधवकुरामा नेपाल पक्षका दिवाकर बराल (बासु) चयन भएका छन् भने केपी ओली पक्षबाट ऋषि बस्नेतलाई चयन भएका छन् ।

यस्तै, नेपाल गुटबाट उपाध्यक्षहरुमा मेखबहादुर गुरुङ, गंगा घले, शरद बराल, सचिवमा सुमन गुरुङ, सह–सचिबमा मान गुरुङ, कोषाध्यक्षमा पेमा गरुङलाई चयन गरिएको छ भने क्षेत्रिय संयोजकमा क्षेत्र नं. १ मा कमल गुरुङ र क्षेत्र नं. २ मा गजेन्द्र श्रेष्ठलाई चयन गरेको छ ।
उता ओली गुटले पनि पुस २७ गते बुधबार नै युवा संघ लमजुङले आयोजना गरेको युवा अगुवा कार्यकर्ता भेलालाई उपयोग गरी नयाँ कमिटि गठन गरेको छ । ऋषि बस्नेतको अध्यक्षतामा २५ सदस्यीय कमिटि गरेको हो । कमिटिको उपाध्यक्षमा मेखबहादुर गुरुङ, सचिवमा रवि थापा, सहसचिवमा गंगाबहादुर घले, कोषाध्यक्षमा निति तामाङ, निर्बाचन क्षेत्र नं १ मा कमल गुरुङ र २ मा गजेन्द्र श्रेष्ठलाई चयन गरेको छ ।
उता नेपाल पक्षधरका युवाहरुले भने एक विज्ञप्ति जारी गर्दै अगुवा कार्याकर्ता भेलालाई अधिवेशन हो भनी युवाहरुलाई झुक्याएर औपचारिक कार्यक्रम सकिएपछि कमिटि निर्माण गरेको भन्दै आक्रोशीत छन् । युवा संघका संयोजक हिरालाल बिश्वकर्माले बन्द सत्रको कुनै बिधि र प्रक्रिया बिना नै कमिटि गठन गरेकाले कुनै आधिकारिक नभएको विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।
यस विवादित विषयबारे नेकपा एमालेका जिल्ला अध्यक्ष धनञ्जय दवाडीले भने युवा संघ लमजुङका आधिकारिक अध्यक्ष बस्नेत भएको र बासु बराल कताबाट अध्यक्ष भए आँफुलाई थाहा नभएको दाबी गर्नुभएको छ । ऋषि बस्नेत अध्यक्ष रहेको कमिटिलाई सार्बजनिक गर्नको लागि आयोजित पत्रकार भेटघाट कार्यक्रममा एमाले केन्द्रीय सदस्य मायानाथ अधिकारी, एमाले जिल्ला सचिव एवं मोर्चा संगठन प्रमुख कृष्णप्रसाद अधिकारी, एमाले नेता फूलबहादुर थापा लगायतको सहभागिता रहेको थियो । संघका अध्यक्ष बस्नेत र बरालले सम्पूर्ण युवा साथीहरु, पार्टीका नेताहरू सम्पूर्ण सहयोगीहरुलाई सामाजिक सञ्जाल फेसबुकमार्फत् धन्यवाद समेत व्यक्त गरेका छन् ।