सातौं सुन्दरबजार महोत्सवको तयारी तिब्र

  • प्रकाशित मिति: सोमबार, पुष १८ २०७३
  • तामाकोशी

लमजुङको दोश्रो ठुलो मूख्य व्यापारिक केन्द्र सुन्दरबजारमा आगामी माघ दोस्रो साता सातौँ सुन्दरबजार महोेत्सव आयोजना हुने भएको छ ।
लमजुङ उद्योग बाणिज्य संघ सुन्दरबजार इकाईले आउँदो माघ २८ गतेदेखिसातौं सुन्दरबजार महोत्सव आयोजना गर्न लागेको हो । लमजुङ उद्योग वाणिज्य संघ सुन्दबजार ईकाईले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि महोत्सव आयोजनाबारे जानकारी दिएको हो ।
‘स्थानीय कला, संस्कृति, पर्यटन शिक्षा विकासको पहिचान, उद्योग व्यापार र कृषि लगानी प्रवद्र्धनमा हाम्रो अभियान’ भन्ने नाराका साथ सञ्चालन हुन लागेको महोत्सवले सुन्दरबजारका साथै जिल्लाकै सम्भावनालाई उजागर गर्ने उद्योग वाणिज्य संघ सुन्दरबजार ईकाईका अध्यक्ष गालु मियाले बताउनुभयो । उनका अनुसार महोत्सव १० दिन सम्म चल्नेछ ।
स्थानीय कला, संस्कृतिको जगेर्ना, व्यवसायिक कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, उद्योग क्षेत्रमा लगानीमैत्री वातावरण निर्माण गर्ने र जिल्लाकै आर्थिक विकासमा टेपा पुर्याउने सातौँँ सुन्दरबजार महोत्सवको मूख्य लक्ष्य रहेको ईकाईका सचिव अर्जुन परियारले जानकारी दिए । लमजुङ कृषि क्याम्पस सुन्दरबजारको प्राङ्गडमा चल्ने महोत्सवमा १ सय ५० स्टल राखिने आयोजकले जनाएको छ । महोत्सवमा १ लाख दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा राखिएको ईकाईका कोषाध्यक्ष नेत्र गुरुङले बताए ।
१० दिनसम्म सञ्चालन हुने महोत्सवमा औद्योगिक तथा व्यापारिक प्रदर्शनी, स्थानीय घरेलु तथा हस्तकला प्रदर्शनी, कृषि, पुष्प, तथा जडीबुटी प्रदर्शनी, विभिन्न लोक सांस्कृति प्रदर्शनी, लोक दोहोरी गीत कार्यक्रम, जातीय एवम् सांस्कृति संग्राहलय, झाँकी तथा ¥याली प्रदर्शनी, नाटक प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको बजोड प्रस्तुतीहरु मूख्य आकर्षणको रुपमा रहेको ईकाईका अध्यक्ष मियाले बताए ।
महोत्सवलाई सफल बनाउन विभिन्न ३७ उपसमित गठन गरिने भएको छ । महोत्सवलाई सफल बनाउन सबै जिल्लावासीको साथ र सहयोग चाहिने आयोजकले बताएको छ । विगतमाझैँ यसपटकको सुन्दरबजार महोत्सवमा पनि जिल्लावासीको साथ र सहयोग पाउनेमा आफूहरु विश्वस्त रहेको महोत्सवको कार्यशाला गोष्ठीका संयोजक बिष्णुकुमार श्रेष्ठले बताए ।