रामेछाप । कार्तिक १६ गते,
नेपाली अलैचीको भाउ विश्व बजारमा घटेपछि रामेछापका अलैचि किसानहरु मारमा परेका छन् । अलैचीले राम्रो भाउँ पाउला भनेर अलैची खेतीमा लागेका किसनाहरु बजार मुल्य घटेसँगै निराश भएका छन् । २ वर्ष अघि प्रतिकिलो २ हजार ५ सय रुपैयाँसम्म पुगेको अलैचिको भाउ वर्षेनी घट्दै गएको छ ।
२ हजार पाँच सय रुपैयाँ किलोसम्म अलैचि बिक्रि हुन लागेपछि व्यवसायी अलैची खेतीमा लागेका किशानहरु अहिले प्रतिकिलो ५ देखि ६ सय रुपैयाँमा बिक्रि गर्न वाध्य भएका छन् ।
रामेछापको उमाकुण्ड गाउँपालिकाको कुभुकास्थलीका किसान अमृतबहादुर कार्कीका अनुसार रामेछापको साविकको चचुरे, बाम्ती, गुम्देल, कुभुकास्थली, प्रिति, लगायतका गाविसमा व्यवसायिक रुपमा अलैचीको खेती हुने गरेको छ । यसैगरी सोलुको, गोली, चौलाखर्क लगायतका लिखुखोला किनारका किसानहरुले पनि अलैची लगाएका छन् । यसका साथै रामेछापको डडुवा, गौश्वारा लागायतको क्षेत्रका किसानहरुले पनि अलैची लगाएका छन्् । 
किसानहरुले २ वर्ष अघि २ हजार ५ सय रुपैयाँसम्म प्रतिकिलो अलैची बिक्रि गरेका थिए । गत साल अलैचिको भाउ आधा घटेर १ हजार २ सय रुपैयाँमा झर्यो । एकैचोटी आधा भाउ घटेपछि किसानहरुले गतशाल अलैची बिक्रि गरेनन् । उनीहरुले यस वर्ष केही राम्रो भाउ आउला भनि अलैचि बिक्रि नगरी भण्डारण गरेर राखेको थिए । तर यस वर्ष फेरी अलैचीको भाउ स्वाट्टै घटेको छ । अहिले अलैचिको भाउ प्रतिकिलो ५ देखि ६ सय रुपैयाँ मात्र भएको कार्कीले बताए । गतशालकै अलैची बेच्न नसकेका किसानहरु यो वर्ष अझ भाउ घटेपछि थप निरास भएका छन् ।
नेपाली अलैचिको गलत प्रचार हुनु र विदेश निर्यात गर्दा नेपाली अलैचि साटिने गरेकोले नेपाली अलैचीको मुल्य सस्तिएको कार्कीले बताए । भारत र चिन हुँदै विदेश पठाउँदा त्यहाँ नेपाली गुणस्तरीय अलैची साटिने गरको उनले बतए । त्यसैले नेपाली अलैची विदेश पठाउँदा ब्राण्ड सहित प्याकिङ् गरेर पठाउने व्यवस्था मिलाउनु पर्ने उनले बताए ।