असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, रामेछापमा उच्च सतर्कता अपनाउन आग्रह

  • प्रकाशित मिति: मंगलबार, असोज ६ २०८३
  • तामाकोशी

रामेछाप । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी असोज ९ गतेदेखि ११ गतेसम्म बागमती प्रदेशसहित देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय रामेछापले प्राधिकरणले जारी गरेको ‘सतर्कताका लागि अनुरोध’ सम्बन्धी सूचना सार्वजनिक गर्दै जिल्लावासीलाई सम्भावित विपदबाट जोगिन आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन आग्रह गरेको हो।
प्राधिकरणका अनुसार उक्त अवधिमा भारी वर्षाको सम्भावनाका कारण नदी तथा खोलाको तटीय क्षेत्र र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्ने अवस्था रहेको छ। त्यसैले नदी तथा खोलाको आसपास र पहिरोको जोखिम क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालयले स्थानीय तह, सुरक्षा निकाय, सम्बन्धित सरकारी तथा गैरसरकारी कार्यालय, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम तथा विभिन्न संघसंस्थालाई समेत सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ।
त्यसैगरी सम्बन्धित निकाय तथा सरोकारवालाले आ–आफ्नो क्षेत्रबाट सूचना प्रवाह, समन्वय, सहयोग र सहजीकरणका कार्यलाई प्रभावकारी बनाउनुपर्ने प्रशासनको भनाइ छ।
भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम बढ्न सक्ने भएकाले सर्वसाधारणले मौसमको अवस्था र सम्बन्धित निकायबाट जारी हुने सूचनामा ध्यान दिन प्रशासनले अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालय रामेछापले विपद्को सम्भावित जोखिम न्यूनीकरणका लागि सबै पक्षलाई आवश्यक सावधानी अपनाउँदै पूर्वतयारीमा जुट्न आग्रह गरेको छ।