विमान चढ्ने यात्रुको अभावले मन्थली–काठमाडौँ नियमित उडान हुन सकेन

  • प्रकाशित मिति: शनिबार, चैत्र १५ २०८१
  • तामाकोशी

रामेछाप । केही दिन अघिसम्म सुनसान रहेको रामेछापको मन्थली विमान स्थलमा विदेशी पर्यटकहरुको चहलपहल सुरु भएको छ । सरकारले सगरमाथा क्षेत्र भ्रमणका लागि नेपाल आएका विदेशी पर्यटकलाई रामेछापको मन्थली विमानस्थलबाट लुक्ला पु¥याउने र ल्याउने व्यवस्था गरेको छ ।

नागरिक उड्डयन प्राधिकरणले (वसन्त ऋतु) को चैतदेखि जेठ महिनासम्म र शरद ऋतुको असोज पहिलो सातादेखि मङ्सिर १५ गतेसम्म मन्थली विमानस्थल भएर लुक्ला विमानस्थलमा पर्यटक लैजाने र ल्याउने व्यवस्था गरेको छ ।



दुई सिजन गरी वर्षमा छ महिना अति व्यस्त रहने मन्थली विमानस्थल बाँकी छ महिना भने सुनसान बन्ने गरेको छ । मन्थली विमानस्थललाई प्रयोग गरी सीता, तारा र समिट एयरका जहाजले सगरमाथा क्षेत्रको भ्रमणमा आएका विदेशी पर्यटकलाई लुक्ला पु¥याउने र ल्याउने गरेका छन् । एउटा उडानमा १४ देखि १८ जनासम्म पर्यटक मन्थली विमानस्थलबाट लुक्ला पुग्ने गरेका छन् । नागरिक उड्डयन कार्यालय मन्थलीका अनुसार दुई सिजनमा मौसम खुलेको समयमा दैनिक ६० वटा उडानमार्फत ८५० जना पर्यटक लुक्ला पुग्ने गरेका छन् ।

रामेछापका राजनीतिक दल, प्रशासक, स्थानीय सरकार र नागरिक समाजलगायत विभिन्न क्षेत्रबाट रामेछाप–काठमाडौँ नियमित उडानको माग हुँदै आएको छ । लुक्लाका लागि व्यावसायिक उडान गर्ने विमान कम्पनीलाई सामाजिक उत्तरदायित्वका लागि भए पनि रामेछाप–काठमाडौँ उडान गर्न रामेछापवासीले लामो समयदेखि माग गर्दै आएका छन् । विमान कम्पनीले रामेछाप–काठमाडौँ उडानका लागि यात्रु नहुने भन्दै अटेर गर्दै आएका छन् ।

सिजनमा ट्याक्टर पार्किङ गरे जसरी मन्थली विमानस्थलमा विमान लाइन लगाउने विमान कम्पनीहरू रामेछाप–काठमाडौँ उडान गर्न भने अटेर गरिरहेको रामेछापबासीको गुनासो छ । स्थानीयले यो विमानस्थलबाट धुवाँ, धुलो, फोहोर र ध्वनि प्रदूषणबाहेक केही पाएका छैनन् । मन्थली विमानस्थल सेवामा भन्दा स्वार्थमा प्रयोग हुँदै आएको रामेछापबासीको गुनासो छ ।

गत असोज दोस्रो साताको अविरल वर्षासँगैको बाढीपहिरोले सडकमार्ग बन्द हुँदा केही दिन रामेछाप–काठमाडौँ उडान राखेका विमान कम्पनीले तुरुन्तै उडान बन्द गरेका थिए । सर्वसाधारणमा अब उडान नियमित हुने भन्दै हल्ला फैलाएका राजनीतिक दलका नेता तथा नागरिक समाजका अगुवाले फेरि रामेछाप–काठमाडौँ उडानका लागि पहल गरेका छैनन् ।

सातामा कम्तीमा दुई पटक रामेछाप–काठमाडौँ उडान हुनुपर्ने रामेछापवासीले माग गर्दै आएका छन् । यात्रु नभएकै कारण रामेछाप–काठमाडौँ नियमित उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरण मन्थलीका उपप्रबन्धक हिरण साह बताउनुहुन्छ । बाढीपहिरोले सडकमार्ग बन्द भएको समयदेखि उडान तालिका राखेर रामेछाप–काठमाडौँ उडान गरिए पनि यात्रु नभएकै कारण केही दिनमै बन्द गर्नु परेको उहाँले बताउनुभयो ।