रामेछाप । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालका केन्द्रीय इन्चार्ज गोकुल घर्ती मगरले नेपालका आदिवासी जनजातिहरूका तमाम समस्याहरू समाधान गरी सामाजिक न्याय सहितको समतामूलक समाज निर्माण गर्ने पार्टी एमाले मात्रै भएको बताउनुभएको छ । रामेछाप सदरमुकाम मन्थलीमा बुधवार आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपाल जिल्ला कमिटी रामेछापको पूर्ण बैठक तथा नवनिर्वाचित पालिका कमिटीहरूलाई शपथ ग्रहण साथै प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो ‘‘ नेपालका आदिवासी जनजातिहरूको तमाम समस्याहरू समाधान गरी सामाजिक न्याय सहित समतामूलक समाज निर्माणको सामर्थ्य राख्ने पार्टी एमाले मात्रै हो । । सामाजिक आन्दोलनले उठाएको माग र मुद्दा हरूलाई राजनीतिक आन्दोलनले मात्रै सम्बोधन गर्न सक्छ । त्यसैले लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालले उठाएका मुद्दा एमालेको मुद्दा र नीति बन्नुपर्छ र बनिरहेका छन्।’’
नेपालका आदिवासी तथा जनजातिहरू अझै शैक्षिक, सामाजिक, आर्थिक र सांस्कृतिक हिसाबले पछाडि परेका वा पारिएकाले उनीहरूको सबै समस्याहरू समाधान नेकपा एमालेले गर्ने उहाँले बताउनुभयो ।