रामेछाप । रामेछापका पाँच हजार पाँच सय बढी बालबालिकालाई पोलियो विरुद्धको आईपिभी खोप लगाइँदै छ । सरकारले २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएका बालबालिकालाई पोलियो रोग विरुद्धको आईपिभी खोप लगाउन यही जेठ १३ गतेदेखि २६ गतेसम्म खोप अभियान सञ्चालन गर्दै छ ।
यो अभियान अन्तरगत रामेछाप जिल्लामा रहेका दुई नगरपालिका र ६ वटा गाउँपालिकाका पाँच हजार ५१५ जना बालबालिकालाई पोलियो विरुद्धको आईपिभी खोप लगाइने जनस्वास्थ्य कार्यालय रामेछापका जिल्ला खोप कार्यक्रमका फोकल पर्सन दीपेन्द्र श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार जिल्लाको मन्थली नगरपालिकामा एक हजार ६२०, रामेछाप नगरपालिकामा ६९१, उमाकुण्ड गाउँपालिकामा ५६६ र गोकुलगंगा गाउँपालिकामा ६५५ जना बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइँदै छ । त्यसै गरी लिखुतामाकोशी गाउँपालिकामा ४७७, खाँडादेवी गाउँपालिकामा ५११, दोरम्बा शैलुङ गाउँपालिकामा ५०४ र सुनापति गाउँपालिकामा ४९१ जना बालबालिकालाई खोप लगाइनेछ ।
जिल्लाको आठ वटै पालिकाहरूमा नियमित खोप सञ्चालन कार्यक्रमलाई प्रभाव नपर्ने गरी विभिन्न तीन चरणमा पोलियो विरुद्धको आईपिभी खोप अभियान सञ्चालन गरिने जिल्ला खोप कार्यक्रमका फोकल पर्सन दीपेन्द्र श्रेष्ठले बताउनुभयो । खोप सञ्चालनका लागि तय भएका २०४ वटा खोप केन्द्रमा २०४ जना स्वास्थ्यकर्मी र ३०० भन्दा बढी स्वास्थ्य स्वयंसेवक खटिने उहाँले बताउनुभयो । यस अभियानको लागि निर्धारण गरिएको उमेर समूहका अधिकांश बालबालिकाहरू विद्यालयमा अध्ययन गर्ने भएकाले विद्यालयमा नै गएर खोप लगाइनेछ । विद्यालय नजाने तथा बाँकी रहेका बालबालिकालाई पायक पर्ने स्थानमा बाह्य खोप केन्द्र सञ्चालन गरेर र अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाबाट खोप प्रदान गरिने श्रेष्ठले बताउनुभयो ।