खाँडादेवी गाउँपालिकामा सीमान्तकृत समुदाय लक्षित स्वास्थ्य शिविर : ६५० बढीले लिए सेवा

  • प्रकाशित मिति: मंगलबार, माघ २३ २०८०
  • तामाकोशी

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाका सीमान्तकृत समुदायलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गाउँपालिकासँगको समन्वयमा स्वास्थ्य कार्यालयले रामेछापले एकीकृत निःशुल्क एकीकृत जनस्वास्थ्य शिविर सञ्चालन गरेको हो । गाउँपालिकाको वडा नं ३ र ४ मा सीमान्तकृत माझी समुदायलाई लक्षित गरी शिविर सञ्चालन गरिएको र वडा नं ७ मा थामी समुदायलाई लक्षित गरी शिविर सञ्चालन गरिएको गाउँपालिको स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार शिविरबाट ६५० जना बढीले स्वास्थ्य सेवा लिएका छन् । वडा नं ७ को खाँडादेवी स्वास्थ्य चौकीमा आयोजना गरेको एकदिने शिविरमा २४० जनाको जनरल जाँच र १ सय ६ जनाको आँखा जाँच गरिएको उहाँले बताउनुभयो । त्यस्तै १ सय १६ जनाको ल्याब परीक्षण भएको छ भने ५२ जनाले दन्त सेवा, ६२ जनाले स्त्री रोग सेवा, पाँच जना गर्भवतीले भिडियो एक्स–रे सेवा तथा ४८ जनाले आयुर्वेदिक सेवा लिएका छन् । वडा न ४ को सीमान्तकृत माझीवस्ती रजगाउँको भीमेश्वर प्रसून कँडेल माविमा सञ्चालित शिविरमा १ सय १० जनाले जनरल जाँच, स्त्रीरोग सम्बन्धी जाँच, आँखा जाँच, गर्भवतीको भिडियो एक्स–रे सेवा, आयुर्वेदिक सेवा तथा सुगर र पिसाब जाँच सेवा लिएका थिए । शिविरमा बिरामीलाई आवश्यक औषधि समेत वितरण गरिएको थियो । त्यस्तै वडा नं ३ को सित्खा स्थिति जखनीस्थान आधारभूत विद्यालयमा शिविरमा ३ सय जनाले स्वास्थ्य सेवा लिएका छन् । जसमध्ये २ सय १५ जनाले जनरल सेवा, ७२ जनाले डेन्टल सेवा, ५६ जनाले स्त्रीरोग, १ सय १० जनाले आँखा जाँच, आठ जना गर्भवतीले भिडियो एक्स–रे सेवा, ८२ जनाले प्रयोगशालाको परीक्षण सेवा र ५६ जनाले आयुर्वेदिक सेवा लिएका छन् ।