रामेछाप । मातृ तथा नवजात शिशु स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको वान हार्ट वल्र्ड वाईज नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाले जिल्लाका विभिन्न स्वास्थ्य संस्थालाई अक्सिजन सहितका स्वास्थ्य सामाग्री प्रदान गरेको छ । मुलुक कोरोना भाइरस कोभिड–१९ को दोस्रो लहरसँग लडिरहेको बेला जिल्लाका कोरोना सङ्क्रमितहरुको उपचार र व्यवस्थापनमा सहजताका लागि संस्थाले ४६ लिटरका २० थान अक्सिजन र अन्य स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।
जिल्ला अस्पताललाई १० थान, मन्थली प्राथमिक स्वास्थ्य केन्द्रलाई १० थान अक्सिजन सिलिन्डर र अन्य गरी २३ लाख ८९ हजार ७८५ रुपियाँ बराबरको स्वास्थ्य सामाग्री प्रदान गरिएको संस्थाकी रामेछाप संयोजक निशा गिरीले बताउनुभयो । उहाँका अनुसार जिल्लाका सवै नगरपालिका तथा गाउँपालिकाहरुलाई पनि आवश्यक पीपीई सेट, सर्जिकल मास्क, सेनिटाइजर लगाएतका स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । जिल्लाका सवै स्थानीय सरकार अहिले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा लागेका छन्, यसैलाई मध्यनजर गरी संस्थाको तर्फबाट सहयोग गरिएको हो संयोजक गिरीले भन्नुभयो ।
विगत ३ वर्षदेखि मातृ तथा नवजात शिशु स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको वान हार्ट वल्र्ड वाईजले कोरोना महामारीलाई ध्यानमा राख्दै गर्भवती तथा सुत्केरी महिला सँग नर्स कार्यक्रम मार्फत उनीहरुको स्वास्थ्य अवस्था बारे फोनमार्फत जानाकारी लिएर विशेषज्ञबाट आवश्यक परामर्श गर्ने व्यवस्था गरिएको संयोजक गिरीले भन्नुभयो ।
