रामेछापमा साउनमा ११ जना मानिस हराए, तीन अझै सम्पर्कविहीन

  • प्रकाशित मिति: मंगलबार, भाद्र २ २०८३
  • तामाकोशी

रामेछाप। रामेछापमा साउन महिनामा मात्रै ११ जना मानिस हराएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। हराउनेमा दुई पुरुष, पाँच महिला, एक बालक र तीन बालिका रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी सन्तुलाल जैसवालका अनुसार हराएका ११ जनामध्ये आठ जनालाई प्रहरीले खोजी गरी फेला पारेर आफन्तको जिम्मा लगाएको छ। अझै एक पुरुष, एक बालक र एक बालिका गरी तीन जना फेला पर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो।
जिल्ला प्रहरी कार्यालय रामेछापले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा साउन महिनाको प्रहरी गतिविधि, अपराध अनुसन्धान तथा हराएका व्यक्तिको खोजीसम्बन्धी विवरण सार्वजनिक गरेको हो।
यसैगरी, साउन महिनामा जिल्ला प्रहरी कार्यालय रामेछापबाट विभिन्न प्रकृतिका १२ वटा मुद्दा फर्छ्योट भएको प्रहरीले जनाएको छ। फर्छ्योट भएका मुद्दामध्ये जघन्य कसुरका दुई, गम्भीर कसुरका चार र सामान्य कसुरका छ वटा रहेका छन्।
सामुदायिक लघुवित्त संस्थाको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका पाँच जनामध्ये सुनिता घिसिङ र सरोज राई पुर्पक्षका लागि कारागार चलान भएको प्रहरीले जनाएको छ। अन्य तीन जना भने उच्च अदालत पाटनको आदेशबाट धरौटीमा छुटेका छन्। उनीहरूविरुद्धको मुद्दा विचाराधीन अवस्थामा रहेको डिएसपी जैसवालले जानकारी दिनुभयो।
प्रहरीका अनुसार जिल्लामा अपराध नियन्त्रण, अनुसन्धान तथा हराएका व्यक्तिको खोजीलाई प्राथमिकताका साथ अघि बढाइएको छ।