लिखु गाउँपालिका अध्यक्ष महत : ‘प्रशासनिक भवन बनाउन नसकेकोमा दुःख लागेको छ’

  • प्रकाशित मिति: शनिबार, साउन ३० २०८३
  • तामाकोशी

रामेछाप। लिखु गाउँपालिकाका अध्यक्ष केशव महतले आफ्नो कार्यकालमा गाउँपालिकाको प्रशासनिक भवन र लिखु अस्पताल निर्माणको काम अघि बढाउन नसकेकोमा दुःख व्यक्त गर्नुभएको छ। उहाँले पटक–पटकका मुद्दा तथा विवादका कारण प्रशासनिक भवन निर्माणको प्रक्रिया अघि बढ्न नसकेको बताउनुभयो।
शुक्रबार सम्पन्न आर्थिक वर्ष २०८२/०८३ को सेवा प्रवाहको प्रभावकारितासम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रममा अध्यक्ष महतले आफू निर्वाचित भएर आएदेखि नै लिखु अस्पताल र प्रशासनिक भवन निर्माणलाई पहिलो प्राथमिकतामा राखे पनि अपेक्षाअनुसार काम पूरा गर्न नसकेको बताउनुभयो।
आफ्नो कार्यकालको अन्तिम समय नजिकिँदै गर्दा समेत यी दुई महत्वपूर्ण संरचना निर्माण हुन नसकेकोमा आफूलाई निकै दुःख लागेको उहाँको भनाइ थियो। अस्पताल निर्माणका लागि स्वास्थ्य मन्त्रालयबाट छिट्टै निर्माण प्रक्रिया सुरु गर्नेसम्बन्धी परिपत्र आउने अपेक्षा गर्दै उहाँले आफ्नो कार्यकालमै केही प्रगति हुने विश्वास व्यक्त गर्नुभयो।
प्रशासनिक भवन निर्माणको विषयमा बोल्दै अध्यक्ष महतले आफ्नै भवन निर्माण गर्न नसक्दा विभिन्न किसिमका प्रश्न र आलोचना खेप्नुपरेको गुनासो गर्नुभयो। उहाँले भन्नुभयो, “जसले आफ्नो घर बनाउन सकिन, उसले ठूला कुरा गर्ने? भाडामा कार्यालय राख्दा घरबेटीसँग पनि केही–केही होला भनेर अरूले भन्दा रातो अनुहार लाएर हिँड्नुपर्ने भएको छ।”
अध्यक्ष महतले आफू सोझो भएर काम गर्दा त्यसको कतिपयले फाइदा उठाएको गुनासोसमेत उहाँले गर्नुभयो।
यद्यपि, सबै पक्ष मिलेर अघि बढ्न सके अझै पनि प्रशासनिक भवन र अस्पताल निर्माणको काम असम्भव नरहेको उहाँको दाबी छ। सम्बन्धित निकाय, जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीबीच सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो।
अध्यक्ष महतले गाउँपालिकाको नेतृत्वमा आएदेखि सहभागिता, पारदर्शिता र जवाफदेहितालाई सुशासनको मार्गका रूपमा लिएर काम गरेको जिकिर गर्नुभयो। सार्वजनिक सुनुवाइ कार्यक्रमले गाउँपालिकाको सेवा प्रवाहमा भएका कमजोरी पहिचान गर्न र नागरिकका गुनासा तथा सुझावलाई सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।
कार्यक्रममा सहभागी नागरिकहरूले गाउँपालिकाको सेवा प्रवाह, विकास निर्माण, स्वास्थ्य तथा प्रशासनिक संरचनालगायतका विषयमा प्रश्न तथा सुझाव राखेका थिए।