दलहरुको बैठक निष्कर्षविहीन

  • प्रकाशित मिति: बुधबार, जेष्ठ ३१ २०७४
  • तामाकोसी खबर

जेठ ३१,काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपा नेपालले असार १४ गने हुने दोस्रो चरणको चुनाव सार्न गरेको प्रस्ताव ठूला दलले अस्वीकार गरेका छन् ।

नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र राजपाका नेताविच सिंहदरबारमा भएको वार्तामा राजपाका नेताले संविधान संशोधन गरेर आफूहरुलाई पनि चुनावमा भाग लिने वातावरण बनाउन आग्रह गरेका थिए ।



राजपाका नेताहरुले यसअघि पनि चुनाव सार्न सरकारलाई आग्रह गरेका थिए । उनीहरुकै आग्रहमा चुनाव ३ पटक सरेको थियो । तर मुख्य दलहरुले भने चुनावपछि संविधान संशोधन गर्ने भन्दै १४ गतेकै चुनावमा भाग लिन आग्रह गरेका थिए ।

बैठकपछि एमाले संसदिय दलका उपनेता सुभास नेम्वाङले असार १४ गतेको चुनाव कुनै पनि हालतमा सार्न नसकिने अडान राखेको बताउनुभयो ।

यस्तै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राजपालाई चुनावमा ल्याउन छलफल जारी राखेको र बिहीबार छलफल गरेर निष्कर्षमा पुग्ने जानकारी दिनुभयो ।

तर राजपाका नेता सरतसिंह भन्डारीले भने सरकारले सबै दललाई चुनावमा सहभागी हुने वातावरण मिलाउनुपर्ने भन्दै पहल गर्न आग्रह गरिएको जानकारी दिनुभयो । सरकारका अहिलेसम्मका गतिविधीले आफूहरु चुनावमा जाने वातावरण नरहेको उहाँले दावी गर्नुभयो । मुख्य ३ दल र राजपाबिच बिहीबार बिहान १० बजे फेरि छलफल हुँदैछ ।