काठमाण्डौ । गएको २४ घण्टामा नेपालमा आठ हजार दुई सय तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० हजार दुई सय ८६ जनाको पीसीआर र ६ सय ९३ जनाको एन्टिजेन परीक्षण गर्दा आठ हजार दुई सय तीन जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा थपिएकासँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या चार लाख ७२ हजार तीन सय ५४ पुगेको छ । यस्तै काठमाण्डौ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ६ सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाण्डौमा दुई हजार ४९ जना, भक्तपुरमा दुई सय २१ जना र ललितपुरमा तीन सय ६५ जना सङ्क्रमित थपिएका छन् ।
यस्तै कोरोना सङ्क्रमणबाट थप एक सय ९६ जनाको ज्यान गएको छ । यसअघिको प्राप्त विवरण र पछिल्लो २४ घण्टामा गरी एक सय ९६ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच हजार चार सय ११ पुगेको छ । यस्तै गएको २४ घण्टामा ६ हजार आठ सय ९१ जना कोरोनामुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख ५२ हजार चार सय १४ पुगेको छ । अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १४ हजार पाँच सय २९ पुगेको छ ।